कैलाश गाउँपालिकाले गर्भवतीहरूलाई पौष्टिक आहार वितरण गर्यो

पालिका डायरी
२३ फाल्गुन २०८०
कैलाश गाउँपालिकाले गर्भवतीहरूलाई पौष्टिक आहार वितरण गर्यो

मकवानपुरको कैलाश गाउँपालिकाले गर्भवती महिलाहरूलाई पोषण सम्बन्धी सचेतना र विभिन्न प्रकारका पौष्टिक आहार वितरण गरेको छ। यो कदम गर्भवती महिलाहरू र बच्चाहरूको स्वास्थ्यलाई मध्यनजर गरी चालिएको हो।

मङ्गलबार कैलाश गाउँपालिका वडा नम्बर ७ को ताम्लाङस्थित स्वास्थ्य चौकीमा आयोजित एक कार्यक्रममा स्थानीय गर्भवती महिलाहरूलाई १२ प्रकारका पौष्टिक आहार सामग्रीहरू समावेश गरिएको कोसेली वितरण गरिएको छ। यस्ता सामग्रीहरूमा गेडागुडी, पिठो, बदाम, ओखर, मासको दाल, अण्डा लगायत कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन र खनिज पदार्थहरू समावेश छन्।

कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानका अनुसार गर्भावस्थामा पर्याप्त पोषण नपाउँदा आमा र बच्चाको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। त्यसैले उनीहरूले गर्भवती महिलाहरूलाई नियमित स्वास्थ्य जाँच र पौष्टिक आहार वितरण गर्ने व्यवस्था मिलाएका हुन्।

अध्यक्ष मुक्तानका अनुसार गाउँपालिकाभित्रका सबै वडामा रहेका गर्भवती महिलाहरूलाई महिनाको एक पटक यस्तो पौष्टिक आहारको प्याकेट वितरण गरिन्छ। तर त्यसको लागि स्वास्थ्य जाँच अनिवार्य छ। एक गर्भवती महिलाले आठ पटक यस्तो स्वास्थ्य जाँच र पौष्टिक आहारको प्याकेट प्राप्त गर्न सक्छिन्। यसले गर्दा गर्भवती महिलाहरूलाई नियमित स्वास्थ्य जाँच गर्नुपर्ने बानी बस्न मद्दत पुग्छ भन्ने विश्वास अध्यक्ष मुक्तानको छ।

गत तीन दिनमा मात्र पालिकाले ८० जना गर्भवती महिलाको स्वास्थ्य जाँच र उनीहरूलाई पौष्टिक आहारको प्याकेट वितरण गरिसकेको छ। यसबाहेक गर्भवती महिलालाई प्रसुतीको बेलामा अस्पताल लैजान निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराइएको छ।

प्रसुती गराउन स्वास्थ्य चौकीमा आउने महिला र जन्मेको बच्चालाई विभिन्न सुविधा प्रदान गरिन्छ। महिलालाई ४ हजार ८ सय रुपैयाँ, बच्चालाई न्यानो कपडा र अन्य राहत सामग्री पनि वितरण गरिने गरिएको छ। यसबाहेक गाउँपालिकाले मातृ तथा शिशु मृत्युदर र बाल विवाह न्यूनीकरणका लागि पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको छ।

 

प्रतिक्रिया