होस्टेलमा १४ वर्षीया किशोरीको शंकास्पद मृत्यु : प्रिन्सिपलसहित तीनजना पक्राउ

पालिका डायरी
१७ फाल्गुन २०८०, १६:२४
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा छात्राको शंकास्पद मृत्युबारे अनुसन्धान गर्न प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा स्कुलका प्रिन्सिपल बालहरी देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टलका वार्डेन कमल पौडेल छन्। कक्षा ८ मा पढ्ने १४ वर्षीया शालिन पोखरेल शनिबार बिहान मृत भेटिएको प्रकरणमा प्रहरीले छानबिन अघि बढाएको हो।
शालिनलाई होस्टेलको कोठाभित्र पंखामा डोरी लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको खबर आएपछि अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले बताए।  मृतक किशोरीका आफन्तले आत्माहत्या नभएर बलात्कारपछि हत्या गरिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका थिए।  त्यही जाहेरीअनुसार घटनाको अनुसन्धानका लागि पक्राउ गरिएको डीएसपी भण्डारीले बताए।

‘घटनामा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेका छौँ’, डीएसपी भण्डारी भने, ‘काठमाडौं लगेर शव पोष्टमार्टम भएको छ। रिपोर्ट  आएपछि थप अनुसन्धान अघि बढ्छ।’ शालिन हजुरआमाकी दिदीको घरनजिकै रहेको विद्यालयमा पढ्दै आएकी थिइन्। शालिनका आमाबुवाको केही वर्षअघि डिभोर्स भएपछि उनी मामाघरकी हजुरआमाको साथमा थिइन्।  उनका बुवा काठमाडौं बस्ने र आमा विदेशमा रहेको पारिवारिक स्रोतले बताएको छ। रत्ननगर नगरपालिका-१५ माधवपुरमा शालिनको मामाघर छ।

मामाघरमा उनको हजुरआमा मात्रै छिन्। पढ्न सिकाउने मान्छे घरमा नभएपछि हजुरआमाले उनकी दिदीको घरनजिकैको विद्यालयमा भर्ना गरिदिएकी थिइन्।

शालिनको हेरचाहमा पनि कमी नहुने र पढाईमा समस्या नहुने भन्दै उनलाई होस्टेल राखिएको थियो।   शुक्रबार साँझसम्म जेठी हजुरआमासँग कुरा गरेर होस्टेल फर्किएकी शालिनलाई शनिबार बिहान झुण्डिएको अवस्थामा फेला पारेको हो।

प्रतिक्रिया