दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

पालिका डायरी
१६ फाल्गुन २०८०, २१:२८
दुहुनो गाईको मृत्युले चिन्तित निर्मलालाई गाई किनिदिने वडाध्यक्ष मोक्तानको प्रतिवद्धता

हेटौंडा / हेटौंडा उपमहानगरपालिका १५ फायरलाइन टोलकी निर्मला डिम्डुङको दुहुनो गाईको बुधबार (आज) मृत्यु भयो । छाकमा ६ लिटर दूध दिने गाई बिरामी भएर मरेपछि निर्मलाको परिवार चिन्तित थिए । दूध बिक्रीबाट छाक टार्न सहज भैरहेको बेला एक्कासी गाईको मृत्यु भएपछि दुखी थिइन् निर्मला ।

आर्थिक अवस्था निकै कमजोर रहेको उनलाई उक्त गाई सोही ठाउँ स्थानीयहरुले आयआर्जनको लागि सहज बनाउन सहयोग गर्ने उदेश्यले किनिदिएका थिए । तर गाई मरेपछि उनको गाँस खोसिएजस्तै भएको उनले दुखेसो पोखेपछि जनप्रतिनिधिले अर्को गाई किनिदिने भएका छन्।

हेटौंडा उपमहनगरपालिकाको कार्यालयसँग छलफल गरेर तथा १५ नम्बर वडाकार्यालयले सहजीकरण गर्दै निर्मलालाई अर्को दुहुनो गाई किनिदिने निर्णय गरिएको वडाध्यक्ष सुनिल मोक्तानले बताए ।

साँझ ५ बजेको समयमा गाईको मृत्यु भएको भन्ने खबर सुन्नासाथ निर्मलाका घर पुगेको बताउँदै उनले भने, ‘सामान्य परिवारलाई त पशुधन गुमाउन पर्दा पीडा हुन्छ। उहाँहरु त अतिविपन्न हुनुहन्छ । हातमुख जोड्ने एउटा मात्रै आयस्रोत बनेको गाई मरेको खबरले निकै दुखी बनायो । उहाँको परिवारलाई अर्को गाई किनेर दिनेमा पहल गर्नेछु ।’

 

प्रतिक्रिया