चितवनमा पारसले पेस्तोल ताकेको आरोप, प्रहरी भन्छ- जानकारी छैन, उजुरी पनि आएन

पालिका डायरी
१६ फाल्गुन २०८०, १७:३७
चितवनमा पारसले पेस्तोल ताकेको आरोप, प्रहरी भन्छ- जानकारी छैन, उजुरी पनि आएन

पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह गत माघ २८ गते आइतबार चितवन भ्रमणमा निस्किए।  परिवारका सदस्यसहित पूर्वराजा १६ दिन चितवनमा बस्ने कार्यक्रम तय गरेरै आएका थिए।

पारिवारिक भ्रमणमा निस्किएका पूर्वराजाका परिवारले भरतपुरमा घुमघाम गरे। काठमाडौंको जाडो छल्न चितवन आएका बताइएका पूर्वराज परिवार पटिहानीको सोल्टी होटलमा बसेका थिए। पारिवारिक यात्राकै क्रममा पूर्वरानी कोमल शाहको जन्मदिन पनि चितवनमै मनाइयो।

चितवनमा रहँदा चितवन राष्ट्रिय निकुञ्जको भ्रमण, राप्ती नदीमा डुंगा सयर, विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गरेर काठमाडौं फर्किए।  तर उनीहरु काठमाडौं पुग्दा नपुग्दै पूर्वयूवराज पारस शाहले विद्यार्थीहरुलाई आक्रमण प्रयास गरेको घटना सार्वजनिक भएको छ।

९ फागुन बुधबार भरतपुर नगरपालिका-८ मा पर्ने सनराइज इङ्लिस बोर्डिङ स्कुलको बसलाई पेस्तोल देखाएर हातपात गरेको घटना सार्वजनिक भएको हो। विद्यार्थीहरूलाई घर छोड्न जानेबेला भरतपुर-८ सल्लेनीमा पेस्तोलसहित आएका एक व्यक्तिले बस चालकलाई हातपात गरेको विद्यालय प्रशासनले जनाएको छ।

पेस्तोलसहित हातपात प्रयास गर्ने व्यक्ति अरु कोही नभएर पूर्वयूवराज पारस शाह नै रहेको प्रत्यक्षदर्शी अभिभावकहरूले बताएका छन्।  पेस्तोलसहित हातपात प्रयास गर्दा बसमा सवार विद्यार्थीहरू त्रसित भएका थिए।  कालो रङ्गको कारमा आएको भनिएका पारसले हातपात प्रयास गरेको विद्यालय स्रोतले जनाएको छ।

गाडी व्याक गरेर फर्काउने क्रममा चालकमाथि पेस्तोल ताक्दै हातपात गरेको दाबी प्रत्यक्षदर्शीक‍‍ो छ। स्कुलको बस विद्यार्थी ओराल्दै थियो’, ती अभिभावकले भने, ‘बस रोकिएको कारण त्यो गाडी छिर्न सकेन। २/४ पटक हर्न बजायो। बच्चाहरू ओर्लिँर्दै गरेका थिए। त्यहीबेला बस ड्राइभरलाई हातपात गर्दै पेस्तोल तेर्साएको देखेका थियौँ। सबैले कराउन थालेपछि गाडी लिएर त्यो व्यक्ति भागेको थियो।’

हातपात गर्ने पूर्वयूवराज नै भएको दाबीसहित स्थानीय अनिल अधिकारीले सामाजिक सञ्जालमा लेखेका छन्। उनका अनुसार स्कुल बस ड्राइभरलाई केही दिनअघि पूर्व युवराज पारस शाहले बन्दुक देखायर तथानाम गाली गरेका थिए। घटनाको विषयमा आफूले स्कुलका प्राध्यापक शिव बगालेसँग छलफल गरेको बताएका छन्।

त्यही विद्यालयमा आफ्नो बच्चा पढाइरहेका नेपाल क्रिकेट संघ (क्यान) का बागमती प्रदेश कार्यसमिति सदस्य अधिकारीले फेसबुकमा लेख्दै घटनालाई गुपचुप राख्न खोजिएको दाबी गरेका छन्। आफू विद्यालयको पूर्व विद्यार्थीसमेत रहेका कारण यस्ता घटना लुकाउन नचाहेको अधिकारीले बताए।

घटनाबारे थप जानकारी दिँदै उनले भने, ‘गाडी ब्याक गर्न नमिलेको भन्दै बसका चालकमाथि हातपात गर्न खोजिएको रहेछ। चितवनकै प्रतिष्ठित विद्यालय भएका कारण प्रशासनले घटना बाहिर ल्याउन चाहेको रहेनछ। त्यसमाथि अन्य क्षेत्रबाट दबाब आएको बुझिएको छ।’

यद्यपि, पेस्तोल देखाउने पारस शाह नै भएको उक्त बसका चालकलेसमेत दाबी गरेको उनको भनाइ छ। यता, जिल्ला प्रहरी कार्यालय चितवन यो बिषयमा अनुसन्धान भइरहेको जनाएको छ।  पूर्वराजपरिवारका सदस्य चितवन आएकोबारे कुनै जानकारी नआएको प्रतिक्रिया प्रहरीले दिएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् डीएसपी श्रीराम भण्डारीले उक्त घटनाबारेमा सामाजिक सञ्जालबाट थाहा पाएको बताएका छन्।

प्रहरी हेडक्वार्टरले पूर्वराजपरिवारको कुनै पनि सार्वजनिक कार्यक्रम तय नभएको कारण उनीहरू चितवन आएर बसेकोबारे कुनै सोधखोज नगरेको चितवन प्रहरीले जनाएको छ।

प्रतिक्रिया