नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौँडामा हुँदै

पालिका डायरी
११ फाल्गुन २०८०, १८:१५
नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौँडामा हुँदै

हेटौँडा / बागमती प्रदेशको राजधानी हेटौँडामा आउँदो चैत १६ र १७ गते नेपाल निर्माण व्यवसायी महासंघको २५ औँ वार्षिक साधारणसभा हुने भएको छ।

हेटौँडा-४ स्थित रोयल पार्टी प्यालेसमा निर्माण व्यवसायी संघ मकवानपुरको सहआयोजकत्वमा साधारणसभा हुन लागेको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ।

साधारणसभामा देशभरका ७७ जिल्लाका जिल्ला शाखाका प्रतिनिधिहरू, सातै प्रदेशका महासंघहरू, वस्तुगत र एसोसिएट सदस्यहरू र महासंघमा आवद्ध साधारण सदस्यहरू समेत गरी करिब २ हजार जना निर्माण व्यवसायीहरूको सहभागिता रहने जनाएको छ।

सभामा निर्माण व्यवसायका उपकरणहरूको स्टल समेत राखिने महासंघका महासचिव राजेन्द्र चौलागाईले बताए। प्रदेशको राजधानी हेटौँडामा पहिलोपटक हुन लागेको राष्ट्रिय स्तरको उक्त कार्यक्रमले हेटौँडाको आर्थिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।

पत्रकार सम्मेलनमा नेपाल निर्माण व्यवसायी महासंघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेल, संघका पुर्व अध्यक्ष आनन्दराम पराजुली, खड्क गोपाली, महासचिव राजेन्द्र चौलागाई लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया