मकवानपुरगढीमा घरमै पालेको कुकुरले टोकेको ६२ दिनपछि बालिकाको मृत्यु

पालिका डायरी
५ फाल्गुन २०८०, १४:४५
palika diary

हेटौंडा / मकवानपुरमा रेबिज रोगबाट एक बालिकाको ज्यान गएको छ। कुकुरको टोकाइबाट मकवानपुरगढी गाउँपालिका-४, कुसुमटारका जीवन महर्जनकी ६ वर्षकी छोरी मनुको मृत्यु भएको हो।

आफ्नै घरमा पालेको कुकुरले खेलिरहेका बेला मनुलाई गत मंसिर २५ गते टोकेको थियो। तर रेबिजविरुद्धको सुई नलगाई राखिएकी बालिका बिरामी भएपछि परिवारले हेटौंडा अस्पताल, भरतपुर अस्पताल हुँदै काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुर्‍याएको थियो।

उनमा चिकित्सकले रेबिजको लक्षण प्रमाणित गरेका थिए। बालिकाको फागुन २ गते बिहान टेकु अस्पतालमा मृत्यु भएको मकवानपुरगढी स्वास्थ्य शाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले जानकारी दिए।

कुकुरले टोकेको लामो समयसम्म पनि उपचार नहुँदा बालिकाको मृत्यु भएको लामिछानेको भनाइ छ। उपचारका क्रममा कुकुरले टोकेको ६२ दिनपछि बालिकाको मृत्यु भएको हो। उनी हेटौंडा-५ स्थित जेनिथ इन्टरनेसनल स्कुलको कक्षा नर्सरीमा पढ्थिन्।

प्रतिक्रिया