मिटरब्याज पीडितको ‘न्याय मार्च’मा मिसिएकी रामकली

पालिका डायरी
२ फाल्गुन २०८०, ११:१०
मिटरब्याज पीडितको ‘न्याय मार्च’मा मिसिएकी रामकली

महोत्तरीकी ५८ वर्षीया रामकली शाहले ६ वर्षअघि छोरीको विवाहका लागि एक बिगाह खेत र घडेरी धितो राखेर ५ लाख रुपैयाँ ऋण लिइन्। गाउँकै महाजनबाट ऋण लिएकी उनले तीन वर्षदेखि नियमित रुपमा ब्याज बुझउँदै आएकी थिइन्।

पछिल्लो दुई वर्षदेखि ब्याजसहित साँवा बोकेर बुझाउन जाँदा आफ्नो खेत र घरघडेरी फिर्ता गर्न मानेका छैनन्। पैसा बुझाएर खेत फिर्ता माग्दा आफूमाथि कुटपिट भएको रामकली बताउँछिन्। ‘साँवा ब्याजसहित १५ लाखभन्दा धेरै बुझाइसकेँ। लालपुर्जा माग्न जाँदा खेत किनिसकेको भन्छन्’ उनले भनिन्, ‘जति पटक पुर्जा लिन जान्छु म माथि कुटपिट भैरहन्छ। ज्यानभरी चोटैचोट छन्, हात पनि भाँचिदिए,’

गहभरीको आँशु सारीको फेरोले पुछ्दै उनले थपिन्, ‘पुर्जा धरौटी राखेर ऋण मात्रै लिएकी थिएँ। तर उनीहरूले त त्यतिमै जग्गा किनेको भन्ने कागज गरेछन्। छोरीको बिहे र छोराहरूलाई पढाउनको लागि लिएको ऋणले मेरो ज्यान नै धरापमा पर्‍यो।’

आफूलाई महाजनले कुटपिट गरेको भिडिओ छोरीले मोबाइलमा कैद गरेको बताउँदै सोही भिडिओ मार्फत आफूले न्याय पाउँछु कि भन्ने लागेको रामकली बताउँछिन्। पैसा सापट लिँदा धेरैवटा कागजमा औंठाछाप गरेकी रामकलीलाई कुन कागजमा के लेखिएको थियो भन्ने थाहा नभएको सुनाउँछिन्।

‘पढ्न जानेको भए त्यही बेला छाप लगाउँदिन थिएँ। तर मैले महाजनको विश्वासमा छाप लगाएँ। म अनपढको एउटा भुलले अहिले थाल खाउँ कि भात खाउँ भएको छ। हाम्रो पीडा प्रहरी प्रशासनले समेत सुनेन।’

यस्तै, सर्लाहीका तय मन्सुरले दुई कठ्ठा जमिन धरौटीमा राखेर गाउँकै महाजन अब्दुल हब्दिस मिर्गानीसँग २५ हजार रुपैयाँ ऋण लिएका थिए।

मन्सुरले २५ हजार रुपैयाँमा ब्याज २५ हजार रुपैयाँ नै थपेर ५० हजार रुपैयाँ फिर्ता गरे। तर पनि साहुले चुक्ता नभएको भन्दै धरौटी राखेको जमिन फिर्ता नदिएपछि ६० हजार रुपैयाँको उखु समेत दिएको मन्सुरको गुनासो छ।

‘मैले २५ हजार रुपैयाँ ऋण लिएकोमा १ लाख ५ हजार ब्याज मात्रै तिरिसकेँ। त्यति गर्दा पनि मेरो धरौटीमा राखेको दुई कठ्ठा जमिनको पुर्जा फिर्ता भएको छैन’ उनले भने, ‘जिल्ला प्रशासन कार्यालयमा पनि उजुरी दिएँ। त्यसपछि सहमती भएको छ। तर उसले त्यो सहमतीलाई पनि मानिरहेको छैन। यसमा पनि प्रशासनको चलखेल बढि भैरहेको छ।’

सिरहाका ६१ वर्षीय मोहनमद्र फुर्वनले गाउँकै मुखिया भनिने शसिन शाहसँग २ वर्षपहिले ७ लाख रुपैयाँ सापटी लिएका थिए। यो अवधिमा मोहनमद्रले शसिनलाई तीन लाख रुपैयाँ फिर्ता गरे। जग्गा धितो राखेर ७ लाख रुपैयाँ ऋण लिएका उनले अझै २० लाख रुपैयाँ तिर्नुपर्ने भन्दै मुखिया बारम्बार पैसा माग्न आइरहेको गुनासो गरे।

‘मैले ७ लाख ऋण लिएको थिएँ। ज्यालमजदुरी गरेर तीन लाख रुपैयाँ ब्याज बुझाइसकेँ। अझै २० लाख रुपैयाँ दिनैपर्छ भनेर घरमै कुटपिट गर्न आउँछन्’ काँधमा राखेको तौलियाले आँशु पुछ्दै फुर्वनले भने, ‘कुनबेला साहुको पिटाइबाट मर्नुपर्ने हो। हाम्रो कुरा न प्रहरीले सुन्छ, न सरकारले सुन्छ।’

माघ १६ मा पूर्वको झापा काँकडभिट्टा र पश्चिम कञ्चनपुरको गड्डाचौकीबाट एकसाथ न्यायको माग गर्दै पैदल यात्रा सुरु गरेका पीडितहरू हिजाे (फागुन १) चितवनमा जम्मा भएर काठमाडौं जाने योजनामा रहेका छन्।

रामकली, मन्सुर र मोहनमद जस्तै साझा पीडा र समस्या भोगेका झण्डै २ सय जना मिटरब्याजपीडित पूर्वी नाका काँकडभिट्टाबाट पैदल मार्च गर्दै १५ औं दिनमा हेटौंडा आइपुगेका छन्।

मिटरब्याजसम्बन्धी कानुन संशोधन र आर्थिक तथा सामाजिक अपराधको रूपमा छानबिन गर्न शक्तिशाली आयोग गठनको प्रमुख मागसहित आन्दोलन सुरु गरिएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका अध्यक्ष अवधेश कुशवाहले बताए।

फागुन १ गते (मंगलबार) बिहान हेटौंडाबाट चितवनका लागि लम्किएका उनीहरू आज साँझ चितवन पुगेर आराम गर्ने र भोलि बिहान (बुधबार) पश्चिमी नाकाबाट आएको टोलीसँग मिसिएर काठमाडौंतर्फ लाग्ने उनीहरूको भनाइ छ।

प्रतिक्रिया