नवौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गतेबाट

पालिका डायरी
१ फाल्गुन २०८०, १८:०३
नवौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता फागुन २२ गतेबाट

हेटौंडा / हेटौंडामा नवौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप रनिङ्ग शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ । हेटौंडा भेट्रान्स क्लबको आयोजनामा आउँदो फागुन २२ देखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो । हेटौंडा–४ स्थित हुप्राचौरको मैदानमा ५ दिनसम्म चल्ने प्रतियोगितामा १६ वटा खेलहरु हुनेछन् ।

प्रतियोगितामा २२ वटा क्लबहरू सहभागी हुनेछन्। पर्सा, बारा, चितवन, पोखरा, रूपन्देही, काठमाडौं, नवलपरासी र हेटौंडाका क्लवहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा विजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ दि सिरिजलाई १५ हजार, सर्वश्रेष्ठ मिडफिल्डर, डिफेन्डर, गोलकिपर, फरवार्ड, कोच र म्यान अफ दि म्याचलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

हेटौंडा भेट्रान्स क्लबका कार्यवाहक अध्यक्ष नवराज बज्राचार्यका अनुसार प्रतियोगिता सम्पन्न गर्न १३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसअघि भएको आठौं राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगितामा ए.वि.सि. भेट्रान क्लब पोखरा विजयी भएको थियो ।

प्रतियोगिताको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा नवौँ राष्ट्रिय हेटौंडा भेट्रान्स फुटबल प्रतियोगिताका संयोजक प्रशान्त पाख्रिन, हेटौंडा भेट्रान्स क्लबका कार्यवाहक अध्यक्ष नवराज वज्राचार्य, मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्ष भेष खड्गी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया