बागमती गोल्डकपमा मच्छिन्द्रकाे विजयी सुरुवात
मकवानपुरकाे बागमती गाउँपालिकामा मंगलबारबाट सुरु छैठौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेकाे छ । बागमती गाउँपालिका फापरबारी स्थित जनता माविको खेल मैदानमा भएकाे उद्घाटन खेलमा मच्छिन्द्रले राइटलेन बागमती क्लब सर्लाहीलाई ५–२ गोल अन्तरले हराएकाे हाे ।
मच्छिन्द्रले खेलकाे पहिलाे हाफमा २ र दाेस्राे हाफमा ३ गाेल गर्याे । यसैगरी बागमतीले खेलकाे दाेस्राे हाफमा २ सान्त्वना गोल गरेकाे थियाे । खेलकाे म्यान अफ दि म्याच मच्छिन्द्रका विमल घर्ती मगर घाेषित हुँदै १० हजार हात पारे । प्रतियाेगिता अन्तर्गत बुधबार आयोजक बागमती खेलकुद विकास समिति र हिमालयन शेर्पा क्लब बीच खेल हुनेछ ।
खेलकुद विकास समिति बागमतीकाे आयोजनामा संचालन भएकाे प्रतियोगिताकाे बागमती गाउँपालिका मुख्य प्रायोजक रहेकाे छ । प्रतियोगितामा ७ वटा ए डिभिजन र तिन वटा मोफसलका गरी १० टिमको सहभागिता जनाएको बागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष टिकालाल श्रेष्ठले जानकारी दिए ।
जावलाखेल युथ क्लव ललितपुर, बागमती युथ क्लब सर्लाही, मच्छिन्द्र फुटबल क्लब काठमाडौं, नव जन जागृती क्लव सिमरा बारा, एनआरटी फुटबल क्लव काठमाडौँ समुह “क” मा रहेका छन् । यस्तै नेपाल आर्मीकाे त्रिभुवन क्लब काठमाडाैं, हिमालयन शेर्पा क्लब काठमाडाैं, आयोजक बागमती खेलकुद विकास समिति, शसस्त्र प्रहरीकाे एपिएफ फुटबल क्लब काठमाडाैं, चर्च ब्वाईज युनाईटेड क्लव काठमाडौं समुह “ख” मा छन् ।
फागुन १० गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता टिमले नगद १० लाख रुपैंया तथा उपविजेताले नगद ५ लाख रुपैंया प्राप्त गर्ने आयोजकले जनाएको छ । पाचौं संस्करणको उपाधीकाे विजेता भुट्निज युथ स्पोर्ट्स क्लवले भने याे प्रतियाेगितामा सहभागिता जनाएको छैन ।


