किताबको झोला फालेर १३ बर्षमै बन्दुक भिर्न पुगेकी सर्मिला
मकवानपुरको बागमती गाउँपालिकाकी ३२ बर्षीया सर्मिला मगरले सोमबार मनाइएको जनयुद्ध दिवसलार्ई आफ्नो जिन्दगीको महत्वपूर्ण दिनको रुपमा सम्झिइन्् । त्यो जंगल डुल्दाको दिन, गोली बन्दुक सँग बिताएको दिन अनि एक ठाउँबाट अर्को ठाउँसम्म पुग्न रातभर हिडेको जुनेली रात । हात गोडा भरी चोट पटक अनि मनमा मरिन्छ कि बाँचिन्छ भन्ने एक प्रकारको तरंग । तर पनि नथाकेका मन लिएर एकोहोरो युद्धमा होमिएकी कलिली सर्मिला ।
२०६० साल जुन बेला उनी १३ बर्षकी थिइन् । कक्षा ६ मा पढ्दै गरेकी उनलाई किताबको पढाई भन्दा देशको अवस्थाले ध्यान खिच्यो । अन्ततः किताबको झोला छोडेर बन्दुक बोक्न तयार भइन् । तत्कालिन फापरबारी गाविस जुन सर्मिलाको गाउँलाई माओवादीको अखडा मान्ने गरिन्थ्यो । गाउँमा केटा मान्छेहरु कमै हुन्थे । किनकी गाउँमै बसे नेपाल आर्मीले मार्ला भन्ने डर, वन गए युद्धमा मरिएला भन्ने डर । ‘हातमा राइफल बन्दुक बोकेर ड्याम जुत्ता बजार्दै आँगनमा आएर आर्मीले भन्थ्यो, माओवादीलाई लकाएर राखेका छौ हैन, बाहिर निकालेनौ भने गोली ठोकिदिन्छु, यो आवाज आज पनि कानमा गुञ्जिरहेको छ जस्तो लाग्छ, सर्मिला भन्छिन् ।’
गाउँका सबै दाई दिदीहरु यो अत्याचारबाट बाहिर निस्कन पर्छ भन्दै जंगल पसिसकेका थिए । सर्मिलालाई पनि पटक÷पटक लागिरह्यो म पनि लडाकु बन्न पर्छ । मैले पनि देशको रक्षा गर्न बन्दुक बोक्न पर्छ । उनलाई आफ्ना गाउँका दाई दिदीहरुले यसरी अन्याय सहेर बस्न हुँदैन, हामीसँगै हिड् भनेपछि उनी १३ बर्षको उमेरमै जनयुद्धमा होमिइन् । जंगलमै युद्धको तालिम लिइन् । आफ्ना दाई दिदी, आफन्त पनि सँगै भएका कारण उनलाई युद्ध रमाइलो लाग्यो । ‘कसैले गाली गर्ला, धम्काउला अथवा मार्ने धम्की देला भन्ने सुन्न परेन । म सुरक्षित छु भन्ने लाग्यो त्यतिबेला,’ उनले भनिन् । त्यहाँ पुगेपछि बिस्तारै युद्धको परिभाषा जानिन् उनले पनि । अरु साथीहरु सँगै बन्दुक बोक्न जान्ने भइन् ।
झुरझुरेको भिडन्तमा बाँचिन् उनी
युद्धकै लागि उनी मकवानपुर सहित चितवन, काभ्रेपलाञ्चोक, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा लगाएतका जंगलहरुमा बसेको उनी आज सम्झिरहेकी छिन् । त्यसोत, शसस्त्र जनयुद्धको बेला २०६२ साल माघ ८ गते फापरबारीको झरझुरेमा सबैभन्दा ठुलो दोहोरो भिडन्त भएको थियो । जनयुद्धमा सरकार पक्ष र माओवादीको ११ घन्टा लामो भिडन्तमा थुप्रै माओवादी र नेपाली सेनाले ज्यान गुमाउनु परेको थियो । उनी पनि त्यो युद्धमा लगातार ६÷७ घण्टा लडिरहिन् । ज्यान जोगाउनको लागि कभरमा बसेकी उनलाई गोली भने लाग्न पाएन । उनी भन्छिन्, ‘मेरो भाग्य बलियो भएर होला धन्न त्यो बेला गोली चाहिँ लागेन, सामान्य चोटपटक घाउहरु त भए ।’
जंगलमै बिवाह
जनयुद्धमा होमिएको ४ बर्षपछि सर्मिलाको बिवाह भयो । काभ्रेका दीपक रानामगरसँग चितवनको क्याम्पमा उनीहरुले लगनगाँठो कसे । त्यतिबेला उनी १६ पुगेर १७ बर्ष लागेकी थिइन् । २०६३ सालमा जंगलबाट निस्किएर क्याम्पमा स्न थालेपछि उनीहरुले बिवाह गरेका हुन् । ‘मन पारपर भएको थियो, त्यतीेबेला अरुको पनि क्याम्पमै बिवाह गर्ने चलन थियो । हामीले पनि त्यही बेला २०६४ साल भदौ २ गते बिहे गर्यौ । हामी दुवैजना युद्ध बुझेका जोडी हौं,’ उनले हाँस्दै भनिन् ।
यसरी भएको थियो भुरभुरे युद्ध
हेटौंडा बाट ४५ किलोमिटर पुर्वमा पर्ने साबिक फापरवारी गाबिस वडा न १ झुरझुरे भन्ने इलाकामा २०६२ साल माघ ०८गते जनमुक्ति सेना र शाही नेपाली सेना बीच बेलुकी ६ बजेदेखी भिडन्त सुरु भएको थियो । हेटौंडा बाट गस्तीमा निस्केको नेपाली सेना हप्ता दिन पछि त्यहाँ पुगेको खवर प्राप्त भए संगै माओवादीको मध्य कमान्डमा कार्यरत जनमुक्ति सेनाको तेस्रो डिभिजन तैनाथ थियो ।
नेपाली सेनालाई फापरवारी बजारमा नै हमला गर्ने उद्देश्यले सम्पुर्ण डिभिजन माथी डाँडैडाँडा दगुरेर त्यहाँ पुग्यो तर नेपाली सेना खोलाको किनारै किनार जनमुक्ति सेना बसेको ठाँउ पुगिसकेको थियो । स्कुलको चौरमा फेरि जनसेना पुरानो ठाँउ फर्किएपछि सुरु भयो लडाइँमा नेपाली सेना पनि ठुलो संख्यामा थियो, भने जनमुक्ति सेनाको तेस्रो डिभिजन पनि संगै थियो ।
माथिल्लो पट्टी जनसेना तल नेपाली सेना बीच भीषण गोलिबारुद चल्यो । जनमुक्ति सेनाले चारैतिर नेपाली सेनालााई घेराबन्दी गरेको थियो । पुर्व पट्टीबाट बासु स्मृति बिग्रेड पश्चिम पट्टी बाट बेथान स्मृति बिग्रेड र उत्तर पट्टीबाट प्रताप स्मृति बिग्रेडले मोर्चा सम्हालेका थिए । नेपालीसेनाको नाईटभिजन हेलिकप्टरले तोराबोरामा बम खसाली रहेको थियोे भने नेपाली सेनाले स्थानीय जनताको घरलाई युद्ध कभर बनाएर अगाडी बढेको थियो ।
स्थानीय घरहरूमा बम हानेर आगो लागेको थियो माओवादीहरु स्थानीयको घरमा बसेको सोचेर नेपाली सेनाले गरेको हमलामा तीन जना स्थानीयको नेपाली सेनाको गोलि लागेर मरेका थिए । मर्नेमा प्रताप सिंह बजु, मान बहादुर बजु र ६ वर्षीय बालकको समेत ज्यान गएको थियोे ।
दुबै पक्षको लडाईमा ठुलो मात्रामा नोक्सानी भएको थियो । नेपाली सेनाले आफ्नो मृत्यु भएको एवम् घाइतेको उदार गरिरहेको थियो सोही समय स्थानीय जनताको दुई घर जलेर नष्ट भएका थिए ।


