चाडहरुले भातृत्वको विकास गर्छ : नेता थपलिया
हेटौंडा / नेकपा ( एमाले ) बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मञ्जुश्री सम्वत् २८६० सोनाम ल्होछारको शुभकामना व्यक्त गर्नुभएको छ ।
शनिबार एक शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनु भएका नेपालीहरुलाई शुभकामना दिनुभएको हो । सन्देशमा भन्नुभएको छ ” सम्पूर्ण आमा-बुवा, दिदि-बहिनी तथा दाजु-भाईहरुमा सुख, शान्ति, समृद्धि, आरोग्य एवम् उत्तरोत्तर प्रगतिको लागि शुभकामना व्यक्त गर्दै यस पर्वले नेपाली – नेपालीबीच आपसी सहिष्णुता, बन्धुत्वको भावना विकास गर्दै सामाजिक-साँस्कृतिक ऐक्यबद्धता, सद्भाव र भ्रातृत्वको विकास गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दछु ।”
नेता थपलियाले नेपालका विविध सांस्कृतिक सम्पदा, चाडपर्व र संस्कृतिले नेपालीहरुको राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा विभिन्न समयमा मनाइने विभिन्न पर्वहरुले नेपालको मौलिकता झल्काउने पर्व हाम्रो राष्ट्रिय पूँजी भएको बताउनु भयो। उहाँले भन्नुभयो ” यस्ता विशेषतालाई समृद्ध नेपाल, सुखी नेपाली निर्माणको अभियानमा सदुपयोग गर्नुपर्दछ र यस पर्वले परम्परा र संस्कृतिको संरक्षण गर्न थप प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।”



