नेताहरुबीच कुटाकुट भएपछि रोकिएको एमाले धादिङ अधिवेशन मंगलबार सुरु हुने

पालिका डायरी
२२ माघ २०८०, ११:४०
एमाले धादिङको अधिवेशनमा लफडा कार्यकर्ताको हात भाँचियाे

 

नेकपा (एमाले) धादिङको नवौं जिल्ला अधिवेशन भोलि (मंगलबार) बाट सुरु हुने भएको छ। आइतबार दुई गुटका नेता कार्यकर्ताहरुबीच कुटाकुट हुँदा स्थगित भएको अधिवेशन मंगलबार बिहान सुरु गर्न लागिएको हो।

‘बालकोटमा अध्यक्ष ज्यू (एमाले अध्यक्ष केपी शर्मा ओली) सँग भएको छलफलमा मंगलबार बिहानबाट पुनः अधिवेशनको कार्यक्रम सुरु गरिने सहमती भएको छ,’ एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले भने, ‘उहाँले एमाले जस्तो गौरवशाली पार्टीले साना बिषयमै यस्ता झै झगडा नगर्न सुझाव दिनु भयो। पार्टीलाई अनुशासित बनाएर अधिवेशन सौहार्दपूर्ण ढंगले भोलि (मंगलबार) बिहानबाट अधिवेशन सुरु गर्छौं।’

त्रिपाठीका अनुसार आइतबार रोकिएको बन्दसत्रको कार्यक्रम सकिएपछि अधिवेशनको बाँकी प्रक्रिया सुरु हुनेछ। जिल्ला पदाधिकारी चुन्ने बिषयमा भने एमाले अध्यक्ष ओलीले कुनै निर्देशन नदिएको उनले बताए।

‘जिल्ला अध्यक्ष सहितको पदाधिकारी चयनका बिषयमा अध्यक्षज्यूको कुनै निर्देशन वा हस्तक्षेप छैन। पहिला हामी सर्वसहमतीको प्रयासमा जुट्छौं। यदि यो सम्भव भएन भने मतदान प्रक्रियामै जान पनि सक्छ। तर त्यो बिषय भोलिको बन्दसत्र पछि मात्रै थाहा हुन्छ,’ त्रिपाठीले भने।

‘अध्यक्षको आकांक्षीमा तपाइँ र डा.रामकुमार अधिकारीको चर्चा छ। तपाइँ आफैँ दोहोरिनका लागि प्रपंञ्च गरिरहनु भएको छ भन्ने आरोप कतिपयको छ नि?’ भन्ने प्रश्नमा त्रिपाठीले यो बिषयमा कुनै छलफल नहुँदै बिवाद सुरु भएको दाबी गरे।

‘बन्दसत्रमा हुने हो नेतृत्वको कुरा। तर हाम्रो त बन्दसत्र सुरु हुनेबित्तिकै झगडा सुरु भयो। जनता र नेताहरुले मलाई नै रोज्नुभयो भने नदोहोरिने कुरा छैन। मैले कुनै जाल रचेको छैन। मनोनयन दर्ता पनि भएको छैन। के गर्ने भन्ने बिषयको उठान नहुँद झमेला सुरु भयो।’ तर, उनले आगामी कार्यकालको लागि समेत आफू अध्यक्षको दाबेदार रहेको स्वीकार गरे।स्रोतका अनुसार बालकोटको बैठकमा प्रदेश अध्यक्ष कैलाश ढुंगेल भने सहभागी थिएनन्। छलफलमा आफूलाई नबोलाइएको उनले बताए।

‘धादिङ अधिवेशन अब कहिले सुरु हुन्छ?’ यो प्रश्नमा उननले आफूलाई यस सम्बन्धि केही थाहा नभएको बताए। ‘म अहिले काठमाण्डौँमै छु। अब दोलखा हिँड्न लागेको। म उतै हुन्छु। धादिङको जिम्मा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीलाई छोडेको छु,’ उनले भने।

प्रदेश अध्यक्ष ढुंगेलका अनुसार अब धादिङको अधिवेशनमा उनी सहभागी हुने छैनन्। शुक्रबारबाट सुरु भएको एमाले धादिङको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिति सिर्जना भएको थियो। जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्ष बिरोधमा उत्रिएको थियो।

जिल्ला कमिटीले निर्णय नै नगरेको भन्दै सुरु भएको बिवाद उत्कर्षमा पुगेपछि कुटाकुटको स्थिति सिर्जना हुँदा बैठक स्थगित भएको थियो।
बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ती सार्वजनिक गरेका थिए।

नेकपा एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको विज्ञप्तीमा अधिवेशन स्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि हुलहुज्जत र धक्कामुक्का भएको र त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको उल्लेख छ। विज्ञप्तिमा सोमबारसम्मका लागि अधिवेशन स्थगित गरिएको उल्लेख थियो। यता जिल्ला अध्यक्ष त्रिपाठीले भने अर्को विज्ञप्ती जारी गरेका थिए। उनले अधिवेशन स्थगित नभएको र यस्ता भ्रममा नपर्न अनुरोध गरेका थिए।

धादिङमा भएको कुटाकुटको विषय बालकोटसम्म पुगेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन स्थगित गर्न निर्देशन दिएर बैठकका लागि नेताहरुलाई बालकोट बोलाएका थिए।

प्रतिक्रिया