हेटौंडा जेसीजद्वारा बालबालिकाहरुलाई न्यानो कपडा वितरण
हेटौंडा / हेटौंडा जेसीजले बागमती गाउँपालिका वडा नम्वर–७ बाख्रेस्थित श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत ३० जना बालकालिकाहरुलाई न्यानो कपडा वितरण गरेको छ । हेटौंडा जेसीज वर्ष सन् २०२० का अध्यक्ष राजदेव बानियाको स्वर्गीय बुवा विहारीलाल बानियाको स्मृतिमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
बालबालिकाहरुलाई जुत्ता मोजा, ट्रयाकसुट लगायत कूल ५० हजार रुपैयाँ बराबरको पोशाक वितरण गरिएको हो । जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठको अध्यक्षतामा भएको पोशाक वितरण कार्यक्रममा बागमती गाउँपालिकाका उपाध्यक्ष फणिन्द्र तिमल्सिनाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा गाउँपालिका वडा नम्वर– ७ का अध्यक्ष उत्तरबहादुर भ्लोन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अक्कलबहादुर घलान, प्रधानाध्यापक कल्पना बस्नेतलगायतले बालबालिकाहरुका लागि जेसीजले विद्यालयमा नै आएर सहयोग उपलब्ध गराएकोप्रति धन्यवाद दिए ।
कार्यक्रममा हेटौंडा जेसीजका पूर्व अध्यक्षहरु राजदेव बानिया, धर्मराज बानियाँ, कुसकुमार रिजाल, देवेन्द्रध्वज कार्की, निवर्तमान अध्यक्ष श्रवणकुमार बर्तौला, कार्यक्रम संयोजक विवेक बानियालगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई महासचिव पंकजदास बानियाँले सहजिकरण गरेका थिए भने कार्यकारिणी उपाध्यक्ष विवेकानन्द न्यौपानेले स्वागत मन्तव्य र तालिम संयोजक सन्तोष पराजुलीले आस्थापाठ प्रस्तुत गरेका थिए ।