बागमती प्रदेश सभाले मनायो छैटौँ वार्षिकोत्सव, मन्त्री र सांसदमै देखिएन उत्साह

पालिका डायरी
१९ माघ २०८०, ११:०१
बागमती प्रदेश सभाले मनायो छैटौँ वार्षिकोत्सव, मन्त्री र सांसदमै देखिएन उत्साह

हेटौंडा / बिहीबार बागमती प्रदेश सभाको छैठौं वार्षिक उत्सव समारोह सम्पन्न भयो। दिउँसो १ः३० बजेका लागि तय भएको समारोह डेढ घण्टा ढिलो गरी ३ बजेतिर बल्ल सुरु गरियो।

वार्षिक उत्सव समारोहका प्रमुख अतिथी थिए, बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा। कार्यक्रको अध्यक्षता सभामुख भुवन पाठकले गरे। बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, प्रदेश सरकारका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया लगाएतको उपस्थितीमा कार्यक्रम सम्पन्न गरियो ।

जननिर्वाचित भएर प्रदेश सभामा प्रवेश गरेका सांसदहरुको लागि प्रदेश सभाको वार्षिकोत्सव कार्यक्रमले ठूलो महत्व राख्नुपर्ने हो। तर सांसदहरु आफ्नो पार्टीगत, पारिवारीक तथा सामाजिक कामलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सभाको उत्सवमा सहभागी नै भएनन्।

कार्यक्रमका लागि बनाइएको मञ्चमा राखिएका सोफाहरू त भरिए। तर मञ्चभन्दा तल राखिएका कुर्सीमा प्रदेश सांसदहरूको उपस्थिती पातलियो। प्रदेश सभामा रहेका तीन दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी ,नेपाल मजदुर किसान पार्टी र हाम्रो नेपाली पार्टीका सांसदहरूको उपस्थिती शून्य थियो।

प्रदेश सरकारको दोस्रो कार्यकाल सुरु भएदेखि नै प्रदेश सरकारलाई समर्थन गर्दै आफू सत्ता पक्षकै पार्टी हौं भनेर पुष्टि गर्न रुचाउने हाम्रो नेपाली पार्टी (हानेपा) पनि वार्षिक उत्सव समारोहमा सहभागी भएन। कार्यक्रममा उपस्थित हुन नसक्नु आफ्नो पारिवारीक कारण रहेको हानेपा बागमती संसदीय दलका नेता शैलेन्द्रराज बज्रचार्यले बताए।

‘जानकारी त आएको हो। हाम्रो पार्टीमा जम्मा दुई जना त छौं। अर्का माननीय सुत्केरी भएर हस्पिटलमै हुनुहन्छ’ उनले भने, ‘तर मेरो छोरीको आज गुन्यूचोली रहेको कारण सहभागी हुन सकिनँ। त्यसैले पार्टीबाट कसैले पनि उपथिती जनाउन नसकेको हौँ।’

यता, राप्रपाले पनि प्रदेशको कार्यक्रमलाई प्राथमिकता दिएन। ‘प्रदेश सभा खारेज गर्न पर्छ भन्ने लाइनको पार्टी हो। त्यसैले हाम्रो दलको कोही पनि उपस्थित हुन जरुरी छ जस्तो लागेन’ राप्रपा संसदीय दलका नेता उद्धव थापाले भने, ‘आजको वार्षिक उत्सव कार्यक्रम आधाआधी राप्रपाको बहिस्कार जस्तै हो। प्रदेश खारेजीको मुद्दामा उभिएका हामीले उत्सवमा सहभागी हुन आवश्यक ठानेनौं।’

प्रदेशका पूर्वमन्त्री समेत रहेका थापाले सरकारमा संसद हावी हुनपर्ने ठाउँमा संसदमा सरकार हावी भएको आरोप लगाए। आफ्नो कार्यकालको दोस्रो वार्षिक उत्सव समारोहमा सहभागी नभएको राप्रपा आफू सरकारमा रहँदा पाँचौं वार्षिक उत्सवमा भने सहभागी थियो।

यता, यो उत्सव नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को पनि प्राथमिकतामा नपरेको नेमकिपा बागमती संसदीय दलका नेता सुरेन्द्रराज गोसाईंले बताए। प्रदेश सभा सचिवालयबाट निम्ता आए पनि प्राथमिकतामा राख्नुपर्ने कार्यक्रम नभएको कारण उपस्थित नभएको गोसाईंको भनाइ छ।

‘प्रदेश सरकारले उल्लेख्य काम गरेर आएको दिनको उत्सव भए पो प्राथमिकतामा राखेर आउनु’ उनले भने, ‘सदन बोलाउनुस् भन्दा कानमा तेल हालेर बस्ने सरकारको भाषण सुन्न मन नलागेर हाम्रो दलको सबै सांसद उपस्थित भएनौं। अनिवार्य उपस्थितीको लागि निर्देशन पनि थिएन।’

प्रमुख प्रतिपक्षमा रहेका नेकपा एमालेको भने संसदीय दलका नेता जगन्नाथ थपलिया सहित केही सांसदहरु कार्यक्रममा सहभागी भएका थिए। यद्यपी, एमालेको पनि बाक्लो उपस्थिती भने रहेन।

त्यसोत, ११० प्रदेश सभा सदस्य रहेको यहाँ बागमती प्रदेश सरकारमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका पनि केही सांसदहरु मात्रै उपस्थित थिए।

१२ मन्त्रालय रहेको बागमतीमा मुख्यमन्त्री सहित आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामा, सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपन्छी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठ, संस्कृति पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जन र उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार गरी ७ जना मन्त्रीहरुको उपस्थिती रहेको थियो।

सात राजनीतिक दलको प्रतिनिधित्व रहेको बागमतीमा ११० जना सांसद छन्। तर प्रदेश सभाको वार्षिक उत्सव समारोहमा भने मन्त्री सहित २० जना उपस्थित रहेको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रतिक्रिया