बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

एकजना किशोरीलाई बलात्कार गरेको अभियोगमा क्रिकेटर सन्दीप लामिछाने दोषी ठहर भएका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले सन्दीपलाई दोषी ठहर गर्दै फैसला सुनाएका हुन्।
पीडितको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर बलात्कार गरेको अदालतको ठहर छ। किशोरीको उमेर भने १८ वर्ष पुगेको अदालतले मानेको छ। त्यसैले ७ देखि १० वर्षसम्मको कैद हुन सक्ने देखिएको छ।
मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा ३ (ङ) मा १८ वर्ष वा त्यसभन्दा बढी उमेरकी महिला पीडित भए ७ देखि १० वर्षसम्म कैद हुन व्यवस्था छ।
अदालतले कसुर निर्धारणका लागि आगामी पुस २५ गते छुट्टै सुनुवाइ गर्नेछ। उक्त सुनुवाइबाट सन्दीपले कैद सजाय भोग्नुपर्ने अवधि तय हुनेछ। गौशाला २६ नाम दिइएकी किशोरीलाई काठमाडौँको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको अभियोग लामिछानेलाई लागेको थियो।
गत आइतबारदेखि चलेको बहस शुक्रबार साँझ सकिएसँगै न्यायाधीश ढकालले सन्दीपविरुद्धको अभियोग ठहरिने फैसला सुनाएका हुन्।
६ दिनसम्म चलेको बहसपछि न्यायाधीश ढकालले शुक्रबार साँझ यो फैसला सुनाएसँगै राष्ट्रिय टोलीका पूर्वकप्तान लामिछानेले कैद बस्नुपर्ने भएको छ।