हेटौंडा जेसीजको वर्ष २०२४ को लागि अध्यक्ष पदमा श्रेष्ठको उम्मेदवारी घोषणा
हेटौंडा / हेटौंडा जेसीज वर्ष २०२४ को लागि अध्यक्ष पदमा विकेशलाल श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । वर्ष २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा रहेका श्रेष्ठले जेसीजको संस्थागत विकाससँगै युवा पुस्ताको नेतृत्व एवम् व्यक्तित्व विकासका लागि काम गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
श्रेष्ठले भने, ‘अग्रजहरुको मिहेनतबाट प्राप्त उपलब्धीलाई जोगाउँदै संस्थागत विकासको क्षेत्रमा मात्रै नभई जेसीजको प्रभाव समूदायस्तरसम्म पुर्याउन मैले उम्मेदवारी दिएको हुँ ।’ जेसीजसँग समूदाय कार्यक्रम अन्तरगत अझै परिस्कृत एवम् प्रभावकारी ढंगबाट जनहितको क्षेत्रमा संस्थाको गतिविधि क्रियाशील बनाउने उनले बताए ।
युवा पुस्ताको क्षमता विकास, सामुदायिक विकास, व्यावसायिक विकास र अन्तर्राष्ट्रिय क्षेत्रमा भएका राम्रा अध्यासहरुलाई स्थानीयस्तरमा कार्यान्वयनमा ल्याउन पहल गर्नेछु । श्रेष्ठले भने, हामी विधिको शासनमा विश्वास गर्छौँ । जेसीजले त्यसका लागि नेतृत्व गर्नेछ ।
‘अझै पनि जेसीजबारे धेरैलाई थाहा छैन, हामी जेसीजलाई समूदायस्तरसम्म पुर्याउँछौँ । कुराले होइन, हाम्रा गतिविधिमार्फत् समाजमा प्रभाव छाड्दै जान्छौँ । उद्घोषणकला, भाषणकला, पार्लिमेन्ट्री मिटिङ प्रोसिडियरसम्बन्धि र समय व्यवस्थापनसम्बन्धि तालिमहरु गरिरहेका छौँ त्यसलाई अझै बढाउँछौँ । दूरदराजसम्म पुगेर स्वास्थ्य शिविर चलाउँछौँ । बेसाहाराको साहारा बन्ने प्रयास गर्छौँ, पीडामा रहेकाहरुको आशु पुछिदिन्छौँ । हामी यहीँ हुन्छौँ, सुख दुखमा साथमै हुन्छौँ ।’ उनले भने ।
जेसीजमा एक व्यक्ति, एक पद र एक कार्यकालको अवधारणा भएकाले सबै साथीहरुलाई क्रमश समेटेर लैजान सकिने भन्दै उनले यसपटक आफ्नो जेसीजमार्फत् समूदायस्तरमा काम गर्ने चाहाना पूरा गरिदिन आग्रहसमेत गरे ।
हेटौंडा –१ चौकिटोल निवासी श्रेष्ठ विगत ६ वर्षदेखि जेसीज अभियानमा छन् । २०१८ मा हेटौंडा जेसीजको सदस्यता लिएका उनले २०१९ मा खेलकुद संयोजक, २०२० मा उपाध्यक्ष र २०२१ मा शाखा सम्पादकको जिम्मेवारी पाए । त्यस्तै २०२२ मा महासचिवको जिम्मेवारी सम्हालेका उनी २०२३ मा कार्यकारिणी उपाध्यक्षको जिम्मेवारीमा छन् ।
लियो लायन्सलगायत विभिन्न संघसंस्थामा रहेर कुशल नेतृत्व प्रदान गरेका श्रेष्ठ मकवानपुर उद्योग वाणिज्य संघको कार्यसमितिमा छन् । उनी अग्रगति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, मकवानपुर उसु संघको कोषाध्यक्षसमेत हुन् । नेवा गुठि खलको हेटौंडा उपमहानगर अध्यक्ष तथा जिल्ला फूटबल संघको सदस्यलगायत विभिन्न संघसंस्थामा आवद्ध भएर क्षमता निखारिरहेका श्रेष्ठ सामाजसेवीको रुपमा समेत परिचित छन् ।
संस्थाको पुस १३ गते साधारणसभा र १४ गते निर्वाचन तालिका तय भएको छ ।