एमाले मकवानपुरको ध्यान कार्यकर्ता प्रशिक्षणमा

हेटौंडा / नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरको पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएको छ ।
पुष ११ देखि १३ सम्म हुने बैठक तथा प्रशिक्षण पार्टीका महासचिव शंकर पोखरेलको प्रमुख आथित्यतामा हुने बताईएको छ । प्रमुख अतिथि महासचिव पोखरेलले पुस ११ गते पार्टीको दशौँ महाधिवेशनको कार्यदिशामा जिल्ला कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रशिक्षण दिनु हुने पार्टी जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताउनु भयो ।
३ दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले मार्क्सवादी दृष्टिकोण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनविचको अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू–राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इन्चार्ज गुरु वरालले समृद्ध नेपाल र सुखी नेपाली, पोलिटब्युरो सदस्य तथा मकवानपुर इन्चार्ज देवी ज्ञवाली समृद्ध मकवानपुर सम्बन्धी अवधारणा, पोलिटब्युरो सदस्य ईश्वरी रिजालले मिसन ८४ को कार्यभार, पोलिटब्युरो सदस्य कैलाश ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयोग र महत्व प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनुहुने सचिव सिग्देलले बताउनु भयो ।
जिल्ला कमिटी बैठकले संगठन सम्बन्धी विशेष कार्ययोजना बनाउने र प्रशिक्षण कार्यक्रम पश्चात् पार्टी र जनसङ्गठनको विभिन्न तहमा जिल्ला व्यापी रूपमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताउनु भयो । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४० जना सहभागी हुने बताईएको छ ।