छिमेकीले ‘छोरा’ खोज्न भन्दै थिए, कोरा बस्न छोरीहरूले नै आँट गरे

पाँच महिनादेखि ब्रेन ट्युमरको उपचार गराइरहेकी चितवनको भरतपुर महानगरपालिका-२०, चनौलीकी ५१ वर्षीया ज्ञानीमाया रानभाटको मंसिर २९ गते मृत्यु भयो। नारायणी नदीको किनारमा उनको दाहसंस्कार गरियो।
दाहसंस्कारपछि काजकिरियाका लागि आफन्तहरुले छोरा पर्ने नाताका पुरुष खोज्न ज्ञानीमायाका श्रीमान् पदमबहादुर रानाभाटलाई सुझाव दिए। किनकि उनीहरुका छोरा थिएनन्। ६ वटा छोरीका अभिभावक रानाभाट दम्पतीको एउटा छोरा जन्मिए पनि सानैमा मृत्यु भएको थियो।
कसलाई कोरा बस्न लगाउने भन्ने विषयमा केहीबेर चर्चा चल्यो। तर ज्ञानीमायाका छोरीहरुले छोरा नाता पर्ने पुरुष ल्याउन आफन्तले दिएको सल्लाह नमान्ने अडान लिए। आफ्नी आमाको काजकिरिया आफूहरुले नै गर्ने जिकिर उनीहरुले गरे।
‘हामी ६ वटी दिदीबहिनीमध्ये जेठी दिदी दिदीमाया रानाभाट शारिरीक रुपमा अशक्त हुनुहुन्छ। साहिली बहिनीको बच्चा सानो छ। त्यसैले उनीहरु दुईजना कोरामै बस्नचाहिँ पाएनन्। बाँकी हामी ४ जना दिदीबहिनी कोरा बसेका हौँ,’ माइली छोरी मालती रानाभाटले नेपालखबरसँग भनिन्।
आमाको काजकिरिया कसले गर्ने भन्ने प्रश्नमा ज्ञानीमायाको छोरीहरुले हामी आफै गर्छौं भनेपछि सुरुमा छरछिमेकीले निकैबेर रोकतोक गर्न नखोजेका भने होइनन्। तर आफ्नी आमालाई बाँचुञ्जेल आफूहरुले गरेको स्याहार पाउने, मरेपछि किरिया गर्न किन नहुने भनेर आफैँले किरिया गर्न अघि सरेको मालती बताउँछिन्।
‘छोरा छैनन् भनेर आमा बुवाले जहिल्यै पनि पीर गर्नुहुन्थ्यो। अरु समस्यामा हामी दिदीबिहिनीहरुले छोरा नभएको पीर भुलाउन निकै प्रयास गरेका थियौँ,’ उनी भन्छिन्, ‘बाँचुञ्जेल हामीले गरेको मायाले खुसी हुनुभएकी हाम्री आमा हामीले गरेको किरिया नपाउनुहोला भन्ने लागेको छैन। उहाँले बिरामी हुँदा पनि किरिया हामीले नै गरे हुथ्यो भन्नुहुन्थ्यो। उहाँकै इच्छा पूरा गर्न पनि हामीले यो आँट गरेका हौँ। छोरा र छोरीमा केही फरक हुँदैन भन्ने उदाहरण पनि यो समाजलाई दिनुछ।’
मालती विवाहित छोरी हुन्। उनको केही वर्ष अघि मात्रै नवलपुरका हरिसँग विवाह भएको थियो। मालतीको अहिले १५ महिनाकी छोरी छिन्। तर पनि उनी कोरामा बसिन्। ‘छोरीलाई नछोएको पनि आज ११ दिन भइसकेछ। डिउटी जाँदा छाड्ने बानीले होला पिराेलिएकी छैनन्, उनले भनिन्।
मालतीसँगै उनको तीन बहिनीहरु आमाको कोरामा बसेका छन्। चार दिदीबहिनीमध्ये मालतीसहित बहिनीहरु नेत्रमाया र चन्द्रामाया नर्सिङ पेसा गर्छन्। मालती भरतपुर अस्पतालकी नर्स हुन् भने चन्द्रामाया देव हस्पिटलमा कार्यरत छिन्। यस्तै नेत्रमाया भरतपुरकै नेसनल सिटी हस्पिटलमा काम गर्छिन्। कान्छी बहिनी रितु भने म्यानेजमेन्ट विषयमा ब्याचलर्स गर्दै छिन्।
दु:ख गरेर आफूहरुलाई छोरी हो भन्ने नै नसोची यति धेरै शिक्षा दिएर बाटो देखाउने आमाको काजकिरिया गर्न अरुलाई लगाउनै मन नलागेको उनीहरु बताउँछन्।
विवाह भइसकेको तपाईं आमाको किरिया बस्दा घरबाट केही भनेनन्?
यो प्रश्नमा मालतीले भावुक हुँदै भनिन्, ‘यी सम्बन्धहरु त पछि जोडिएको हो। आमा बुवा त रगतको नाता हो। मैले इच्छा देखाएपछि मेरा श्रीमान्, सासुआमा सुसुराबुवा सबैले सकारात्मक रुपमा लिनुभयो। सबैले साथ दिनुभएको छ।’
छोरीहरु मात्रै भएका कारण पत्नीको काजकिरिया गर्न छोरा नाता पर्ने को आफन्त खोज्नु भनेर पीरमा परेका ज्ञानीमायाका श्रीमान् पदमबहादुर आफ्ना छोरीहरुको साहस देखेर दंग छन्।
‘छोरा र छोरीमा केही फरक हुन्न रैछ, फरक हुने त हाम्रो सोचाइ मात्रै हुने रैछ,’ पदमबहादुरले नेपालखबरसँग भने।
नेपालखबरबाट ।