हेटौंडा बचत तथा ऋण सहकारीले २५ औँ स्थापना दिवसमा सप्ताहव्यापी कार्यक्रम गर्ने

हेटौंडा / हेटौंडा ७ नागश्वतिमा रहेको हेटौंडा बचत तथा ऋण सहकारी संस्था लिले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम गरि मनाउने भएको छ ।
संस्थाले वार्षिक उत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रमको तयारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । जस अन्तरगत समिति उपसमितिको बैठक, ज्येष्ठ सदस्य सम्मान, बाल कार्यक्रम त्यसैगरी वनभोज, रक्तदान कार्यक्रम, म्युजिकल चियर, घ्याम्पो फुटाई, सेवाकेन्द्र स्तरीय फुटबल प्रतियोगिता, स्लो बाइक / स्कुटर रेस र पुरुष तथा महिला दौड प्रतियोगिता लगायतको कार्यक्रम गर्ने तयारी गरेको अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताए ।
सहकारिले वार्षिक उत्सवको अवसरमा ७९ जनाभन्दा बढि ज्येष्ठ नागरिक सम्मान कार्यक्रम गर्दैछ । वार्षिक उत्सवको अवसरमा संस्थाका स्थापक अध्यक्ष तथा सदस्यहरू भगवती दाहाल हरिप्रसाद गौतम, मीन प्रसाद गौतम, रामप्रसाद दाहाल, कृष्ण प्रसाद दाहाल, राजिब प्रसाद ढकाल, राम बहादुर गौतम, हरिहर ढकाललगायत २६ लाई सम्मान गरेको छ । साथै पूर्व कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।
२ हजार ६ सय पुँजीबाट सुरु गरिएको सहकारी २५ वर्षको अवधिमा ४ करोड ३६ लाख ९४ हजार २ सय पुँजीमा पुगेको र २ हजार १२४ जनालाई ऋण सुविधा दिन सफल भएको अध्यक्ष बस्नेतले बताए । सहकारीमा हाल ६ हजार ९ सय शेयर सदस्य रहेका छन् संस्थामा हाल ३ करोड ८ लाख ७० हजार जगेडा कोष रहेको र संस्थामा हाल १७ प्रतिशत तरलता रहेको संस्थाको प्रबन्धक राम शरण गौतमले जानकारी दिए ।