हेटौंडामा खानेपानीको महशुल अनलाइनबाटै तिर्न सकिने
खानेपानी व्यवस्थापन बोर्ड हेटौंडा र एन.एम.वी बैकं बिच सहकार्य सुरु भएको छ । अब खानेपानी बोर्डका २२ हजार ग्राहकहरुले काउण्टरसम्म पुगेर घण्टौ लाईन बसेर बिल तिर्ने झन्झट गर्नुपर्ने छैन । ग्राहकहरुले अब घरमै बसेर एन.एम.बी बैकं मार्फत अनलाईन भुक्तानी गर्न सक्नेछन् ।
हटौंडा खानेपानी डिजिटिल बिल भुक्तानी सुभारम्भको औपचारीक कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामाले पानी संरक्षण गर्नु सबैको दायित्व भएकाले उपमहानगरपालिकाले खानेपानी संरक्षणका लागि खानेपानी व्यवस्थापन बोर्डसँग छलफल गरी आवश्यक योजनाहरु बनाइरहेको बताईन । स्थानीय सरकारले नागरीकहरुलाई अरु केहि दिन नसकेपनि स्वच्छ पानी दिनुपर्ने कुरा उनले बताईन ।
सामाजिक क्षेत्रमा दायित्व पूरा गर्ने बैङ्कहरुलाइ प्रतिस्पर्धात्मक रुपमा छनौट गरी वित्तिय सहकार्य सुचारु गर्ने प्रमुख लामाले बताईन । यसअघि हेटौंडा उपमहानगरपालिकाले आफ्ना उपभोक्तालाई मासिक १० हजार लिटर सम्म खानेपानी निःशुल्क उपलब्ध गराउदै आईरहेको छ ।
खानेपानी व्यवस्थापन बोर्डका अध्यक्ष प्रताप विष्टको सभाध्यक्षतामा भएको कार्यक्रममा, हेटौंडा उपमहानगरपालिका प्रमुख मिना कुमारी लामा, एन.एम.वी बैकंका सी. इ. ओ सूरेश उपाध्याय, हेटौंडा– २ का वडाअध्यक्ष विष्णु गोपाल महर्जन, खानेपानी व्यवस्थापन बोर्ड सदस्य इन्द्र प्रसाद नेपाल, खानेपानी व्यवस्थापन बोर्ड कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटा लगाएतको उपस्थिति रहेको थियो ।