बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, २७ जना घाइते, ७ को अवस्था गम्भीर
बाराको अमलेखगञ्जमा बस र ट्रक आपसमा ठोकिँदा भएको दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
दुर्घटनामा दुवै सवारी साधनका चालक र अर्का एक यात्रुले ज्यान गुमाएका प्रहरीले जनाएको छ। दुर्घटनामा २७ जना घाइते भएका छन्। गएराति झापाबाट काठमाडौँ जादै गरेको बा ३-००१ ख २५८७ नम्बरको बस र हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक अमलेखगञ्ज नजिकै पर्ने तीन नम्बर पुलमा ठोकिँदा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गएराति करिब २ बजे भएको दुर्घटनामा ट्रक चालक तनहुँको पिपलटारका २८ वर्षीय पूर्ण गुरूङ, बस चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका- ३ का ४० वर्षीय हरि शम्शेर सुयालकाे मृत्यु भएकाे छ। दुर्घटनामा करिब ३५ वर्षीय एक पुरूषको मृत्यु भएको छ। तर ती पुरुषको भने सनाखत हुन सकेको छैन।
दुर्घटनामा घाइते भएका २७ जनाको बारामा र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ।


