अब निर्धक्कसँग आर्थिक गतिविधि गरौँ : अर्थमन्त्री महत

हेटौंडा / नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री प्रकाश शरण महतले अब निर्धक्कसंग आर्थिक गतिविधि गर्नका लागि आग्रह गरेका छन् । नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलनको हेटौंडामा उद्घाटन गर्दै उनले अब आर्थिक क्षेत्र सुधारिएकाले यही लगानी गरेर काम गर्नका लागि आग्रह गरे ।
अब देशमै कुनैपनि काम गर्नका लागि सहज भइसकेकाले यही काम गर्न आग्रह गर्दै उनले भने ‘अर्थतन्त्रमा सुधार आएकाले जग्गा कारोबारमा पनि सुधार आएको छ । शेयर मार्केट पनि बढेको छ । पर्यटन क्षेत्रमा पनि निकै सुधार आएको छ । अब लगानी गरेर काम गर्न डराउनुपर्ने अवस्था छैन ।’ देशमा धेरै खालका समस्या भएपनि सरकारमा बसेर आफूहरूले राम्रो काम गरेको अर्थमन्त्री महतको दावी छ ।
कांग्रेस मकवानपुरको सम्मेलनमा मकवानपुर जिल्लाको दुई संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश, १० वटा पालिका, १०२ वटा वडाबाट गरी करिब २ हजार प्रतिनिधि उपस्थिति रहेका छन् । सम्मेलनमा जिल्लाको संगठनात्मक अवस्था, समस्या, वार्षिक प्रगति, राजनीतिक सिद्धान्त र विचारका विषयमा केन्द्रित रहेर छलफल तथा बहस हुने छ।
सम्मेलनले जिल्लमा पार्टी संगठन बिस्तारका लागी आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने छ ।