कर्णालीमा पहिलो क्रिकेट खेल मैदानको भयाे शिलान्यास

पालिका डायरी
२ पुष २०८०, १६:२६

कर्णाली प्रदेशमा पहिलो पटक क्रिकेट खेल मैदान बन्ने भएको छ । खेल मैदानको अभावका खेलाडीहरुले अभ्यासका लागि समस्या झेल्दै आएका थिए ।

अन्तर्राष्ट्रिय अथवा राष्ट्रियस्तरका खेल प्रतियोगितामा सहभागिता जनाउन अभ्यासका लागि खेल मैदान खोज्दै भौतारिनु पर्ने अवस्था अब भने कर्णालीमा अन्त्य हुने भएको छ । १० औंं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा हुने भनिए पनि खेलाडीलाई अभ्यासका लागि खेल मैदानको अभाव रहेको छ । यसैलाई मध्यनजर गर्दै कर्णाली मै पहिलो क्रिकेट खेल मैदानको निर्माण हुने भएको हो ।

वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माणका लागि २०८० मंसिर १५ गते सम्झौता भइ ०८० चैत ३० गते योजना सम्पन्न गर्ने गरि के.पी.डी.डी कन्ट्रक्सन सुर्खेतले निर्माणको जिम्मा लिएको छ ।

७३ लाख १८ हजार लागतमा निर्माण हुने खेलकुद मैदानको क्रिकेट पिच, माटो काटेर अर्धनाली निर्माण र लेबल मिलाउने, क्रिकेट मैदानमा दुबो लगाउने कार्य, ल्याण्ड रक्यापिङ गरि हरियाली गर्ने काम हुने कर्णाली परिषदका सदस्य सचिव विश्वामित्र सञ्जालले जानकारी दिए ।

यस्तै, सोमबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले वीरेन्द्रनगर स्थित कालिन्चोकमा क्रिकेट मैदान निर्माण कार्यको शुभारम्भ गरेका छन् ।

मैदानको शुभारम्भ गर्दै मुख्यमन्त्री शर्माले क्रिकेट मैदानको निर्माण कार्य सकेपछि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया