दुश्मनी गरेर कहीँ पनि पुग्न सकिँदैन : ओली

पालिका डायरी
३० मंसिर २०८०, १८:५३
धनकुटामा ओलीमाथि हातपात File photo

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दुश्मनी गरेर कहीँ पनि पुग्न नसकिने बताएका छन्।

शनिबार पाँचथरको फिदिममा आयोजित पार्टीको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कुनै मतभेद र आपसी समस्या भए विधि र प्रक्रिया भित्रैबाट संवाद गरी समाधान गर्न सकिने बताए।

पहिचानवादीहरुले एमालेमाथि निशाना साँधिरहेका बेला ओलीले मुलुकमा आपसी द्वन्द्व, वैमनष्यता, आशंका र अविश्वास भइरहे त्यसले तनाव सृजना गर्ने र गरिवी नहट्ने पनि बताए। उनले नेपाल सुन्दर देश भएकाले यसलाई छिट्टै धनी बनाउन सकिने पनि उल्लेख गरे।

‘म असहमती राख्ने साथीहरू सबै पार्टी, सबै समूहहरूलाई भन्न चाहन्छु–दुश्मनी गरेर कहीँ पुगिनेवाला छैन। मतभेदहरू हुन सक्दछन्, भिन्नताहरू हुन सक्दछन्। तर तिनलाई शान्तिपूर्ण ढंगले विधि र प्रक्रियाबाट, त्यस्ता निकायहरू छन्। त्यसबाट धैर्यतापूर्वक संवादको माध्यामबाट हुनसक्छ,’ अध्यक्ष ओलीले भने, ‘अरु निर्वाचनका माध्यामबाट हुन सक्दछन्। त्यसरी समाधान गरिनुपर्दछ। संवादबाट शान्तिपूर्ण ढंगले। हामीलाई शान्ति चाहिन्छ। यो विविधतामा हामी अल्झियौं भने यस विविधताले आन्तरिक द्वन्द्व, वैमनष्यता, आशंका, अविश्वास, तनाव सृजना गर्दछ।’

अध्यक्ष ओलीले मुलुक बनाउने काम एमालेले मात्रै गर्नसक्ने दाबी समेत गरे। ‘त्यसबाट हामी गरिबका गरिब रहन्छौं। अनि, स्विजरल्याण्ड धनी भयो, फलानो धनी भयो। इजरायल पनि धनी भइसक्यो। बालुवा नै बालुवाको देश यूएई धनी भइसकेछ। त्यसो भएर काम गर्न हामी त्यहाँ जानुपर्छ भन्ने होइन। आफ्नो देश हामीले किन नबनाउने? यति सुन्दर देश। हामी आफैंले बनाउन सक्छौं।’

प्रतिक्रिया