कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन पुस ३ गते

पालिका डायरी
२९ मंसिर २०८०, २०:२७
कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन पुस ३ गते

नेपाली कांग्रेस मकवानपुरको जिल्ला सम्मेलन आगामी पुस ३ गते हुने भएको छ । कांग्रेस जिल्ला कार्य समिति मकवानपुरले शुक्रबार पत्रकार भेटघाट गरी जिल्ला सम्मेलनकाे जानकारी दिएको छ ।

कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा हुने सम्मेलनमा पार्टीका शीर्ष नेता, सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहने कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले बताए ।
सम्मेलन तयारी तथा व्यवस्थापनकाे लागि सभापति लामाको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएकाे छ ।  यसैगरी सचिव भिमसेन महत प्रतिवेदन लेखन उपसमितिको संयोजक तोकिएका छन् भने उपसभापति आनन्द कठायतलाई स्वागत समितिको संयोजक ताेकिएकाे छ । सहसचिव इन्दिरा न्यौपानेलाई आर्थिक व्यवस्थापन उपसमितिको सभापति ताेकिदा प्रवक्ता अर्जुन चौलागाईले प्रचारप्रसार उपसमिति संयोजक जिम्मेवारीमा रहेका छन् ।
‘सम्मेलनमा जिल्लाको संगठानात्मक अवस्था, समस्या, वार्षिक प्रगतिलगायतका विषयमा छलफल हुनेछ’ सभापति लामाले भने ‘पार्टी संगठनभित्र देखिएका कमीकमजोरी, समस्याकाे छलफलबाट समाधान गर्ने प्रयास गरिनेछ ।’ उक्त सम्मेलनले कांग्रेसको आगामी कार्ययोजना, रणनीति र एजेण्डाका विषयमा छलफल गरी मार्ग निर्देशन गर्ने बताइएकाे छ । सम्मेलनमा भएका छलफलका विषयलाई समेटेर राजनीतिक प्रतिवेदन तयार पारिनेछ । सम्मेलनमा मकवानपुरको आर्थिक सामाजिक रुपान्तरणका विषयलाई जोड्न जिल्लाका १० वटै पालिकाका कृषि, पर्यटन तथा समाज रुपान्तरणका विषयमा प्रस्तुति तथा बहस गरिने उनले बताए ।
सम्मेलनमा जिल्लाका १ सय २ वडा, १० वटा पालिका, ६ प्रदेश र संघीय निर्वाचन क्षेत्र समिति र जिल्ला कार्य समितिका २ हजार प्रतिनिधिकाे प्रतिनिधित्व हुने लामाले जानकारी दिए । सम्मेलनमा अनुमानित १५ लाख रुपैयाँ खर्च लाग्ने बताइएकाे छ ।  सहभागी प्रतिनिधिहरुबाट जनही २ रुपैयाँ, जिल्ला पदाधिकारी र सदस्यहरुबाट १ हजार रुपैयाँ र महासमिति सदस्यहरुबाट १ हजारदेखि १ हजार ५ सय रुपैयाँ सम्मेलनको खर्च व्यवस्थापनकाे लागि शुल्क उठाउने निर्णय भएको सभापति लामाले बताए ।
प्रतिक्रिया