५ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आशंका शंकास्पद २ जना पक्राउ

धनुषामा ५ वर्षीया एक बालिकाको हत्या भएको छ। तीन दिनदेखि हराइरहेकी सबैला नगरपालिका ९ सतोखरका राकेश यादवकी ५ वर्षीया छोरी राखीको शव आज (शुक्रबार) बिहान फेला परेको हो।
प्रहरी र स्थानीयले खोजी गर्ने क्रममा हत्या गरेर स्थानीय एक पोखरीमा फालेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी मित्रबन्धु शर्माले जानकारी दिए।
‘प्रहरी अहिले घटनास्थलमै छ,’ एसपी शर्माले भने, ‘बालिकाको हत्यामा संलग्न भएको आशंकामा शंकास्पद दुईजना पक्राउ परेका छन्। थप अनुसन्धान हुँदैछ।’ बालिकाको शवको प्रकृति हेर्दा बलात्कारपछि उनको हत्या भएको आशंका स्थानीयले गरेका छन्। प्रहरीले भने यस विषयमा केही भनेको छैन।
‘बालिकाको शव अहिले पनि पोखरीमै छ। हामी घटनास्थलमै छौँ,’ जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले भने, ‘हिजो साँझ खोज्ने क्रममा शंका लागेर पोखरीको पानी सुकाएर हेर्दा आज बिहान शव फेला परेको हो।’
‘बालिकाको शवको पोष्टमार्टमपछि मात्रै बलात्कार गरेर हत्या भए/नभएको खुल्छ,’ डीएसपी अवाले भने। प्रहरीका अनुसार बुधबार साँझ आमासँगै ती बालिका घरबाट एक किमी उत्तरमा रहेको सबैला ९ मा मटकोर हेर्न गएकी थिए। विवाह पञ्चमीको अवसरमा निकालिएको रथ यात्रा हेर्न गएदेखि ती बालिका बेपत्ता भएकी थिइन्।
भोलिपल्ट (बिहीबार) बिहान ९ बजेमात्रै बालिका हराएको भनेर अभिभावकले प्रहरीलाई जानकारी गराएका थिए। प्रहरीले बालिकाका आफन्त, जनप्रतिनिधि र स्थानीयवासीलाई साथमै लिएर बालिकाको खोजी गरेको थियो।
बालिकालाई खोज्ने क्रममा तालिम प्राप्त कुकुर पनि परिचालन गरिएको डीएसपी अवाले बताए। बालिकाको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले दुईजना स्थानीयलाई नियन्त्रणमा लिएर सोधपुछ सुरु गरेको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।
डीएसपी अवाले बालिका हत्याको विस्तृत विवरण पछि सार्वजनिक गरिने जानकारी दिए।