मानव सेवा आश्रमकाे आ.व २०७९/०८० को वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक

पालिका डायरी
२८ मंसिर २०८०, १८:२०
मानव सेवा आश्रमकाे आ.व २०७९/०८० को वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक

हेटौंडा / मानव सेवा आश्रमले आज बिहीवार एक कार्यक्रम गर्दै आ.व २०७९/०८० को वार्षिक आर्थिक तथा प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । 


उक्त आर्थिक तथा प्रगति प्रतिवेदनको अनुसार २ करोड ९२ लाख ४७ हजार ४३ रुपैयाँ कुल आम्दानी भएकोमा ३ करोड ७१ लाख ९१ हजार ७ सय ९७ रुपैयाँ कुल खर्च भएको व्यहोरा प्रतिवेदनमा उल्लेख छ । आश्रममा २ करोड, ४७ लाख, ५६ हजार १ सय ५० रुपैयाँ दान तथा चन्दा उपलब्ध भएको आश्रमको प्रतिवेदनमा उल्लेख छ ।


भौतिक संरचना निर्माणका लागि भने १ करोड १७ लाख ७३ हजार ५ सय ७० रुपियाँ सरकारी निकाय बाट सहयोग भएको छ । र जनस्तरबाट ११ करोड ९१ लाख २६ हजार ९ सय ५९ रुपैयाँ संकलन भएको जनाइएको छ ।


त्यस्तै प्रगति प्रतिवेदन तर्फ आश्रमले हालसम्म १ हजार ५ सय ८१ सहयोगापेक्षी सडक आश्रित मानवहरूको उद्धार गरेको जनाएको छ । त्यस्तै ८ सय ३६ पारिवारिक पुर्नमिलन, १ सय ८४ शरीर शान्त, ५१ सामुदायिक पुर्नमिलन र ३४ जनाको पुनः उद्धार गरिएको बताइएको छ । ४ सय २० जनाले स्वेच्छाले आश्रम छोडेर गएको विवरण प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९/०८० मा २४ महिला र ३१ पुरुष गरी ५५ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ । सोही आर्थिक वर्षमा १८ जनाले स्वेच्छाले आश्रम छाडेर गएका छन् भने २३ जनाको पारिवारिक पुर्नमिलन र ४ जना समुदायमा पुर्नस्थापना भएका छन् । 

गत आर्थिक वर्षमा मानवता प्रर्वद्धनका लागि नेपथ्य लाइभ कन्सर्ट, आमा सेमिनार , नियमित उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन र संस्थागत सहकार्य जस्ता कार्यक्रमहरू भएको अधिकारीले जानकारी दिए । ‘‘ हामीले साप्ताहिक रुपमा सडक अवलोकन, सहयोगापेक्षीहरुको खोजी, उद्धार, संरक्षण र पारिवारिक पुर्नमिलन कार्य गरी रहेका छौ । स्वास्थ्य शिविर सञ्चालन र बालबालिकाहरूका लागि शाखा भित्रै अतिरिक्त क्रियाकलापहरू समय समयमा गरिरहेका छौ । ’’ अध्यक्ष अधिकारीले बताए । आश्रमलाई थप सुरक्षित बनाउन सीसी टिभी जडान गरिएको व्यहोरा उनले अवगत गराए ।

वार्षिक प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष रामजी अधिकारीले प्रचण्डसहित गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशशरण महत, लगायतको उपस्थितिमा भवन उद्घाटन गरिने जानकारी दिए । ३० गते बिहान ८ बजे भवन उद्घाटन गर्नेगरी तालिका तय गरिएको उनले बताए ।


रामजी अधिकारीको सभाध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख सूर्य प्रसाद सेढाईँ, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाल, शसत्र प्रहरी उपरीक्षक अनिल कार्की, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश महाशाखा प्रमुख चन्दा व्यञ्जनकार, सामाजिक विकास मन्त्रालयका सामाजिक महाशाखा प्रमुख अमृत अधिकारी हेटौंडा ९ का वडा सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया