हेटौंडामा लागुऔषध गाँजा सहित दुई महिला पक्राउ
हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नं.११ थानाभर्याङबाट लागुऔषध गाँजा सहित दुई महिला पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ घर भई सर्लाही मलंगवा नगरपालिका वडा नं.४ डेरा गरी वस्ने ३० बर्षीया मनिषा लिम्बु र सोही स्थान बस्ने ३९ बर्षीया शान्ति लिम्बु रहेका छन् ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत काठमाडौंबाट महोत्तरी गौशालातर्फ जादै गरेको बा.प्र.०१–००६ ख ४४८९ नम्बरको बसलाई चेकजाँच गर्दा उक्त बसमा सवार महिलाको साथबाट १४ किलो ९०० ग्राम लागुऔषध गाँजा बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, सञ्चार शाखाले जानकारी दिएको छ ।
शाखाका अनुसार उनीहरु हेटौडा उपमहानगरपालिका वडा नं.१९ नेवारपानीवाट दुई वटा कालो झोला लिएर उक्त बसमा आएका थिए । अस्थायी प्रहरी पोष्ट थानाभर्याङको टोलीले चेकजाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
लागुऔषध सहित दुबै महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।