कांग्रेस सरकारमा भएकाे बेलामा यति धेरै काण्डहरू किन भइरहेकाे छ ? : गगन थापा

पालिका डायरी
२४ मंसिर २०८०, १७:१९
सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा file photo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुशासनका कारण नागरिक आक्रान्त भएको बताउनुभएको छ ।

आज आइतवार पार्टीकाे मुखपत्र ‘नेपाल पुकार’ को लोकार्पण समारोहमा महामन्त्री थापाले एउटा प्रकरण सेलाउन नपाउँदै अर्को अनियमितताको प्रकरण आउनु नागरिक र देशका लागि दुःखद भएको बताउनुभयो । पार्टी केन्द्रीय सानेपामा भएकाे कार्यक्रममा उहाँले कांग्रेस सरकारमा भएको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेको छन् भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आजको दिनमा कुशासनका घटना धेरै भइरहेका छन् । एउटा काण्ड सेलाउन पाएको हुँदैन, अर्को काण्ड आउँछ । केही समयअघिसम्म सुन काण्ड थियो, नक्कली भुटानी शरणार्थी प्रकरण थियो । अब एनसेल काण्ड आयो । अब केही दिन यही चल्छ । यो सेलाउन पाएको छैन, अर्को आउँछ । यो काण्ड कुशासनसँग जोडिएको छ । कुशासन कि नियतसँग जोडिएको छ कि अयोग्यतासँग जोडिएको छ । शासन हामीले गरिरहेका छौँ । सुशासन हाम्रो वाचा मात्रै होइन, त्यसकै निम्ति जन्मिएको पार्टी हो । त्यसैले हामी सरकारमा भएको बेला, हाम्रो नियन्त्रणमा राजनीति भएको बेलामा, हामी सबैभन्दा प्रभावशाली भएको बेलामा, हामीले भनेको बाटोमा देश हिँडिरहेको बेलामा कुशासनका यति धेरै घटना किन भइरहेका छन् । यति धेरै काण्डहरू किन भइरहेको छ ? जरामा के छ ? समस्या कहाँनेर छ ? के कारणले गर्दा आएको छ ?’

महामन्त्री थापाले कांग्रेस समुन्नतिको पक्षमा अघि बढ्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
Gagan-Thapa