मनहरी गाउँपालिका र अग्रज चेपाङ्गबीच अन्तरक्रिया, स्वास्थ्य र शिक्षामा जाेड दिन आग्रह

पालिका डायरी
२० मंसिर २०८०
स्वास्थ्य र शिक्षामा प्राथमिकताका लागि आग्रह

मनहरी गाउँपालिका र अग्रज चेपाङ्गबीच अन्तरक्रिया 

मनहरी गाउँपालिका र चेपाङ्ग समुदायका अग्रज व्यक्तिहरूबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आदिवासी जनजाति समुह मकवानपुरको सहजीकरण र गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । 

कार्यक्रम चेपाङ्ग समुदायका अगुवाहरूले विशेषगरी स्वास्थ्य र शिक्षामा प्राथमिकताका लागि आग्रह गरेका थिए । विकास निर्माणका कार्यहरूमा सो समुदायलाई समेट्नु पर्ने उनीहरूको माग थियो । साथै चेपाङ्ग जातीलाई रोजगारीको व्यवस्था गरी आत्मनिर्भर बनाउन पनि उनीहरूले अनुरोध गरेका छन् ।

 कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित बागमती प्रदेशका  पूर्व राज्यमन्त्री सन्त बहादुर चेपाङ्गले आफ्नो कार्यकालमा चेपाङ्ग जातीका लागि उल्लेखनीय कार्य गरेको दावी गरे । हालसम्म १ अर्ब ६० करोड लगानी गरी चेपाङ्ग समुदायको स्तरोन्नतिका कार्यक्रमहरू ल्याइएको उनको भनाई छ । यता गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीले चेपाङ्ग समुदाय लक्षित बजेट निर्माणका लागि सबैको सल्लाह अनुसार अघि बढ्ने उद्घोष गरे । 

सीमान्तकृत चेपाङ्ग समुदायको निशुल्क शिक्षा र स्वास्थ्यका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउँदै आवश्यकता अनुसार वडा कार्यालयको सिफारिस अनुसार सेवा लिन आग्रह गरे । 

कार्यक्रममा उपाध्यक्ष सीता पुलामी मगर, ४ नं वडाअध्यक्ष प्रकाश थापा, १ नं वडाअध्यक्ष शिव खनाल र ३ नं वडाअध्यक्ष अनन्त प्रकाश अर्याल लगायतको उपस्थिति रहेको थियो । सामाजिक विकास शाखा प्रमुख ज्ञानेन्द्र ढकालद्वारा सञ्चालित कार्यक्रममा ४५ जना चेपाङ्ग समुदायका अग्रज व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया