चिनीको अभाव केही दिनमै समाधान हुने
बजारमा फेरी चिनीको अभाव भएको छ । दसैँदेखि अभाव भएको चिनीको आपूर्तिमा सरकारले ध्यान नदिएकाले बजारमा चिनीको अभाव अहिले फेरी चुलिएको छ । सरकारसँग स्टकमा चिनी नभएको र भारतबाट जी–टु–जी प्रक्रियाबाट ल्याउने भनिएको चिनी पनि मूल्य र गुणस्तर नमिल्दा ल्याउन नसकिएकाले बजारमा चिनीको अभाव देखिएको छ ।
केहिदिन यता देखिएको चिनीको अभाव केही दिनमै समाधान हुने उद्योग वाणिज्य तथा संरक्षण विभागले जनाएको छ । विभागका प्रवक्ता आनन्दराज पोखरेलका अनुसार सूचना प्रवाहको कमजोरीका कारण मात्र बजारमा चिनीको अभाव भएको हो । उहाँले भन्नुभयो, “बजारमा समन्वयको अभावका कारण चिनीको अभाव भएको हो । केही दिनमा नै यो समस्या समाधान हुन्छ । ”
उहाँका अनुसार अहिले दैनिक पाँच–छ ट्रक चिनी आयात भइरहेकाले खुद्रा व्यापारीले डिलरहरूसँग सम्पर्क गरेर लिन सकिनेछ । अहिले उखुको क्रसिङ् सिजन सुरु भएकाले चिनीको अभाव लामो समय नजाने उहाँको भनाइ छ । अहिले छ उद्योगले चिनी उत्पादन सुरु गरिसकेकाले चिनीको अभाव केही दिनमा नै हट्ने उहाँ बताउनुहुन्छ ।
यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरका अनुसार अहिले बजारमा देखिएको चिनीको अभाव दुई–तीन दिनमा समाधान हुनेछ । उपत्यका बाहिरका जिल्लाहरूमा चिनीको आपूर्तिमा कुनै समस्या नरहेको र उपत्यकाभित्र मात्र चिनी नआएकाले यो समस्या केही दिनमा नै समाधान हुने उहाँको भनाइ छ ।


