जनप्रतिनिधिबीचको विवादले गाउँसभा भएन, शिक्षक र कर्मचारीको तलब रोकियो

पालिका डायरी
१५ मंसिर २०८०, १३:३७

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा जनप्रतिनिधिहरूबीच विवाद भएपछि गाउँसभा अवरुद्ध भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतो र उपाअध्यक्ष गीतादेवी महतो समूहको आपसी विवादका कारण गाउँसभा हुन नसकेको हो ।

गाउँसभा नभएपपछि गाउँपालिकाका शिक्षक एवं कर्मचारीको तलब रोकिएको छ । तलब नपाएर उनीहरू आन्दोलनमा उत्रिएका छन् । राजनीतिक खिचातानी र जनप्रतिनिधिबीचको आपसी विवादका कारणा गाउँपालिकाले गएको असार मसान्तमै गरिसक्नु पर्ने गाउँसभा चालु आर्थिक वर्षको चार महिना बितिसक्दा पनि हुन सकेको छैन ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार कुनै पनि स्थानीय निकायले असार महिनाभित्रमा आर्थिक वर्षको वार्षिक बजेट, नीति तथा कार्यक्रम पारित गर्नुपर्छ ।

वार्षिक बजेट, नीति तथा कार्यक्रम नआउँदा विकास निर्माणका काम प्रभावित भएका छन् भने गाउँपालिका भित्रका शिक्षक तथा कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् । सामाजिक सुरक्षा भत्ता नपाएर वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति एवं एकल महिलालाई गर्जो टार्न कठिन भएको छ ।

गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी पठनपाठन नै अवरुद्ध गरेर गाउँपालिका कार्यालयअगाडि धर्नामा बसेका छन् ।

प्रतिक्रिया
chandranagar_fTlywIvg9n