मान्छे मार्ने बाघ खोज्दा भेटियो बाघले नै खाएको अर्काे शव

मकवानपुरमा मानिसलाई आक्रमण गर्ने बाघ खोज्न हात्ती लिएर निस्किएको प्रहरीसहितको टोलीले बाघले नै मारेको अवस्थामा अर्को व्यक्ति फेला पारेको छ।
मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा बाघको आक्रमणबाट चितवन राप्ती नगरपालिका वडा नम्बर–१ दुबिचौर बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो।
पौडेलको मृत्युपश्चात् त्यस बाघलाई खोज्ने क्रममा अर्को मानिसको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।
बाघ खोज्न चितवन राष्ट्रिय निकुञ्ज सुरक्षा पोस्ट सुनाचुरीबाट नेपाली सेनाको टोली र चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत सुनाचुरी रेन्ज पोस्टबाट खटिएको टोलीले ४ वटा हात्ती प्रयोग गरी बाघको खोजी गर्ने क्रममा कम्मरमुनिको भाग र कम्मरभन्दा माथि हड्डी मात्र रहेको पुरुषको शव फेला पारेको उनले बताए।
मुचुल्कापश्चात् पोस्टमार्टमका लागि हेटौँडा अस्पताल ल्याएको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस्तै निकुञ्जको टोलीले गएराति बाघ नियन्त्रणमा लिएर वन्यजन्तु केन्द्र चितवनतर्फ लगेको मकवानपुर प्रहरीले जानकारी दिएको छ।