हेटौंडाको राप्तीतट झकिझकाउ, आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

पालिका डायरी
३ मंसिर २०८०, १२:०६
हेटौंडामा छठ पूजाको तयारी अन्तिम चरणमा , हेर्नुहोस तस्बीरमा

 हेटौंडा / हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको राप्तीतट आज निकै झकिझकाउ बनाइएको छ । आज सूर्यको पूजा आराधना गरी छठ पर्व मनाउने दिनमा यसको भव्य तयारी गरिएको छ । छठका लागि सबैजसो तयारी पुरा भएको यसको मूल समारोह समितिले जनाएको छ । हेटौंडाको रापतीतटमा तराइ र पहाडका बासिन्दाहरू एक आपसमा मिलेर छठ पर्व मनाउँदै आएका छन् ।

छठ पर्वको मुख्य दिन आज बेलुका अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको छठ पर्व विधिपूर्वक समापन हुन्छ ।

बर्तालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । आज सप्तमी तिथि भए पनि भोलि बिहान उदाउँदो सूर्यको पूजा आराधना सहित अर्घ्य दिएर छठ पर्व समापन हुने संस्कृतिविद् डाक्टर वीरबहादुर महतोले जानकारी दिनुभयो ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ ।

छठ पर्व पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ । काम गर्न टाढा पुगेका परिवारजन छठ पर्वका लागि घर आएका छन् । पर्वले सबै परिवारजन र आफन्तसँग भेटघाट गराएको छ ।

प्रतिक्रिया
chhath