कर्मचारी हटाएपछि वीरगन्जको सरसफाई प्रभावित

पालिका डायरी
२६ आश्विन २०८०, १६:१९

वीरगन्ज महानगरपालिकाका वडाध्यक्षहरूले कर्मचारी अभावमा वडाहरूमा सरसफाई अभियान प्रभावित भएको गुनासो गरेका छन्।

एक महिना पहिले महानगरपालिकाले ३२ वटै वडा कार्यालयका साथै महानगरपालिकाको विभिन्न महाशाखा र शाखामा दैनिक ज्यालादारी र डोर हाजिरीमा कार्यरत सरसफाइकर्मी, ट्रयाक्टर चालक, कम्प्युटर अपरेटर, नगर प्रहरीलगायत ४ सय ५० भन्दा बढी कर्मचारीलाई सेवाबाट हटाएको थियो।

दैनिक ज्यालादारी र र डोर हाजिरीमा कार्यरत कर्मचारीहरू हटाइदिँदा अहिले वडामा सरसफाई कार्य नै प्रभावित भएको र वडावासीबाट दिनहुँ दुर्व्यवहार खेप्नु परिरहेको वडाध्यक्षहरूको गुनासो छ।

उनीहरूले कर्मचारीको अभावमा सेवा दिन नसक्दा वडावासीबाट व्यक्त भइरहेको आक्रोस थेग्न नसकिएकाले अब आफूहरूले नै वडा कार्यालयमा ताल्चा लगाएर महानगरपालिकाको कार्यालयमा धर्नामा बस्न बाध्य हुने चेतावनी दिएका छन्।

शुक्रबार बिहान गुनासो लिएर मेयर राजेशमान सिंहको कार्यकक्षमा पुगेका वडाध्यक्षहरूले हटाइएका सरसफाइकर्मी सहितका आवश्यक कर्मचारीको तत्काल व्यवस्थापन गर्न माग गरे।

२०७९ जेठमा बसेको महानगरपालिकाको चौथो बोर्ड बैठक र परिषदले नै हरेक वडामा थप पाँच जना सरफाइकर्मी, एक जना ट्रयाक्टर चालक, एक जना कम्प्युटर अपरेटर दैनिक ज्यालादारी र डोर हाजिरीमा नियुक्त गर्ने निर्णय गरेको थियो।

त्यही निर्णय अनुसार हरेक वडामा दैनिक ज्यालादारी र र डोर हाजिरीमा आवश्यक कर्मचारी नियुक्त गरेको र त्यसले सरसफाईसहित वडा कार्यालयको सेवा सहज भएको अनुभूति नगरवासीले गरिरहेकोमा अहिले अचानक ती कर्मचारी हटाउँदा वडा कार्यालयको सेवा प्रवाह नै अस्तव्यस्त बनेको वडाध्यक्षहरूको भनाइ छ।

वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदीले भने, ‘कर्मचारी नहुँदा वडामा सरसफाइको काम ठप्प जस्तै छ। ट्रयाक्टर छ तर ड्राइभर छैन। हप्तौसम्म फोहोर उठ्दैन। जनता घरमा आएर अनेकथरी कुरा सुनाएर जान्छन्। जनताको आक्रोश थेग्न सक्ने अवस्थामा अब छैनौं। कि त महानगरले कर्मचारी देओस् कि हामी वडाको तालाचाबी महानगरमा ल्याएर बुझाइदिन्छौं।’

वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले अधिकांश वडामा कम्प्युटर अपरेटर पनि हटाइएका कारण जन्मदर्ता, मृत्यु दर्ता, चौहदी सिफारिस लगायतका सेवाका लागि महानगरपालिका कार्यालयमा सिफारिस गरेर पठाउनु परेकोले सेवाग्राहीलाई सास्ती भइरहेको र उनीहरूले त्यसको आक्रोश आफूहरूमाथि पोख्ने गरेको गुनासो गरे।

बोर्ड बैठक र परिषदको निर्णय अनुसार नै दैनिक ज्यालादारी र डोरहाजिरीमा कर्मचारी नियुक्त गरिएको भएपनि प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले सनकमा आएर ४ सय ५० भन्दा बढी कर्मचारी हटाइदिएको उनले बताए।

वडा नम्बर १२ का वडाध्यक्ष सुरेश गुप्ताले भने, ‘महानगरमा नयाँ नेतृत्व आएपछि सहरको सरसफाई र सौन्दइकरणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्‍यो, बाहिरबाट आउने मानिसहरू पनि सहरको सरसफाईमा आएको आमुल परिवर्तन दखेर आश्चर्य मान्थे। मुक्तकण्ठले प्रशंसा गर्थे। तर अचानक वडाहरूमा नियुक्त दैनिक ज्यालादारीका कर्मचारी हटाइदिँदा वीरगन्ज सहरको सरसफाइको पहिलेको जस्तै दुरावस्था हुने हो कि भन्ने चिन्ता छ।’

वडाध्यक्षहरूको गुनासो सुनेपछि मेयर सिंहले कर्मचारीको अभावमा महानगरपालिका कार्यालयको पनि सेवा प्रवाहमा समस्या भएको स्वीकारे। उनले कर्मचारीको व्यवस्थापनका लागि आफूले प्रयास गरिरहेको भन्दै अहिले उपलब्ध जनशक्तिकै भरपुर उपयोग गरेर काम गर्न वडाध्यक्षहरूलाई आग्रह गरे।

शुक्रबार बिहान मेयर सिंहसामु गुनासो लिएर पुगेको टोलीमा वडा नम्बर ४ का वडाध्यक्ष जगत साह कानु, वडा नम्बर ५ का वडाध्यक्ष प्रदप चौरसिया, वडा नम्बर ६ का वडाध्यक्ष जयप्रकाश अग्रवाल, वडा नम्बर १२ वडाध्यक्ष सुरेश गुप्ता, वडा नम्बर १५ का वडाध्यक्ष रमेश यादव, वडा नम्बर १७ का वडाध्यक्ष सन्जु छत्कुली, वडा नम्बर २५ का वडाध्यक्ष आशुतोष चर्तुवेदी, वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रा सहभागी थिए।

गत भदौ २४ गते प्रमुख प्रशासकीय अधिकृत पौडेलले एक सूचना जारी गरेर भदौ २६ गतेदेखि लागू हुने गरी दैनिक ज्यालादारी र र डोर हाजिरीमा कार्यरत कर्मचारीहरू नियमविपरीत भर्ना गरिएको भन्दै उनीहरूलाई जागिरबाट हटाएको जानकारी गराएका थिए।

उक्त सूचना अनुसार, महानगरपालिकाको वडा कार्यालयमा कार्यरत सफाइकर्मी, ट्रयाक्टर चालक , कम्प्युटर अपरेटर, स्वास्थ्य चौकी , नगर प्रहरी गरी ४ सय ५० भन्दा बढी कर्मचारी जागीरबाट बर्खास्त भएका थिए।

प्रतिक्रिया
Untitled-1_ILgsZ88Rso_97GaqkCeCy