दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय र मानवअधिकार बिषयक अन्तरक्रिया सम्पन्न
हेटौंडा / सामारी उत्थान सेवाले दलित समुदायका लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदाय मानवअधिकार बिषयक अन्तरक्रिया गरेको छ । फ्रेन्ड्स हेटौंडासंगको सहकार्यमा सामारी उत्थानले शुक्रबार हेटौंडास्थित होटल सामनामा मानव अधिकारकर्मी, दलित अधिकारकर्मी, पत्रकार, तेस्रो लिङ्गी महिला तथा पुरुषहरुसँग अन्तरक्रिया गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा सामारी उत्थान सेवाकी संस्थापक संयोजक विमला गायकले संस्थाले स्थापना कालदेखि हालसम्म हासिल गरेका उपलब्धी, संस्थाले गर्ने काम, कार्यक्षत्रको बारेमा प्रकाश परेकी थिइन् । उनले समाजका मानिसहरु शिक्षित भएपनि ब्यवहार लागु नगर्दा दलितमाथि हुने छुवाछुतले नयाँ रुप लिएको बताईन् । राज्य कानुन बनाएर लागु गर्न नसक्दा दलित समुदायका छोराछोरीमाथि अपराधिक क्रियालाप दिनप्रति बढ्दै गएको बताईन् ।
यस्तै, फ्रेन्ड्स हेटौंडाकी संयोजक किरण थापाले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका व्यक्तिहरुको अधिकारका आन्दोलनले कानुनी रूपमा महिला र पुरुष बाहेक ‘अन्य’लाई पनि पहिचान दिएपनि समाजले अझै स्वीकार्न सकेको बताईन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुलाई महिला तथा पुरुषलाई सरह मानवीय व्यवहार र सम्मान गर्न जरूरी छ भन्ने कुरा समाजमा अझै बुझाउन नसकिएको यस बारे सरकारले गम्भीर हुन आवश्यक रहेको बताईन् । उनले ‘समाजलाई ‘एलजिबिटिआइक्यु’का विषयमा त्यति धेरै ज्ञान नहुँदा समस्या देखिएको धारण ब्यक्त गरिन् ।
सामारी उत्थान सेवाका व्यवस्थापक शिवहरी ज्ञावलीले राज्यको कानुनले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई मौलिक हकबाटै बञ्चित गरेकोले आवश्यक ऐन, कानुन बनाउन आवश्यक रहेको बताए । आर्थिक रुपमा सक्षम हुनका लागि आवश्यक बजेट विनियोजन गरेर आयआर्जनसंग जोड्नु पर्ने बताए । उनले राज्यको विभिन्न निकायमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउन आवश्यक रहेको धारण ब्यक्त गरे ।
कार्यक्रममा मानव अधिकारकर्मी रेवा शर्मा, मकवानपुरका दलित अधिकारकर्मी कमल विश्वकर्मा, मकवानपुरकी एमाले नेत्री रमिला सापकोटा लगायतको उपस्थिती रहेको थियो ।