ब्लु डाइमण्ड सोसाइटी र नेपाल प्रहरीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
हेटौंडा / निल हिरा समाज (ब्लु डाइमण्ड सोसाइटी) ले नेपाल प्रहरीसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । शुक्रबार हेटौंडामा यौनिक लैङ्गिक तथा अल्पसंख्यक समुदायको लागि नेपाल प्रहरीले गर्नुपर्ने भूमिका, सहकार्य र सहअस्तित्वको बारेमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा आफ्नो भनाई राख्दै ब्लु डाइमण्ड सोसाइटीकी अध्यक्ष पिंकी गुरुङले यस समुदायको हितका लागि परिवार देखि समाजले समेत सकारात्मक साथ दिनुपर्ने बताइन् । उनले यौनिक लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई सभ्य नागरिक बनाउन राज्यले नारी पुरुषलाई दिएको जस्तै अधिकार यस समुदायका मानिसहरुलाई पनि दिन जरुरी रहेको बताइन् ।
यस्तै, कार्यक्रममा उपस्थित राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेशकी प्रमुख रेवा रेग्मीले कार्यक्रम निकै प्रभावकारी भएको बताइन् । उनले यस्ता कार्यक्रमहरुको सहयोगले यौनिक लैङ्गिक तथा अल्पसंख्यक समुदायलाई समाजले हेर्ने नजरमा परिवर्तन आउने बताउँदै मानव अधिकार आयोगको पूर्ण साथ र समर्थन रहने बताइन् । यस समुदायको अधिकार प्राप्तीका लागि आयोगले सधैं प्रयत्न गर्ने उनको भनाइ रहेको थियो ।
यस्तै, प्रहरी निरिक्षक दाताराम अधिकारीले यस समुदायको सुरक्षाको लागि सदैव नेपाल प्रहरीले साथ र सहयोग गर्ने बताएका छन् । अमेरिकी सरकारको वित्तिय सहयोग तथा निल हिरा समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी, मानव अधिकारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रम भूमिका श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।