हेटौँडामा प्रहरी कार्यालयभित्रै महिला मृत्यु प्रकरणः मध्यरात उत्पात मच्चाउने प्रहरी निलम्बित
हेटौंडा / मकवानपुरको हेटौँडामा आइतबार मध्यरात सडकमा एम्बुलेन्स रोकेर उत्पात मच्चाउने सहायक हबल्दार डिल्लीराम शिवाकोटी निलम्बनमा परेका छन् । उनले नशाको तालमा उत्पात मच्चाएपछि एम्बुलेन्समै रहेकी महिलाको मृत्यु भएको थियो ।
यस विषयमा बिभीन्न सञ्चार माध्यममा समाचार प्रकाशित गरेपछि बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सहायक हबल्दार शिवाकोटीलाई निलम्बन गरेको हो । शिवाकोटीले एम्बुलेन्स रोक्दा मृतक महिलाको परिवारसँग विवाद भएपछि उनी घाइते भएका थिए । उनको उपचार चितवनस्थित पुरानो मेडिकल कलेजमा भइरहेको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक दिपक रेग्मीले एम्बुलेन्स रोक्ने प्रहरी शिवाकोटीलाई निलम्बन गरेको जानकारी दिए । उनले निलम्बन गरेर घटनाको अनुसन्धान भइरहेको बताए । सहायक हबल्दार शिवाकोटीको उपचारपछि थप कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।
एसएसपी रेग्मीले बिरामी बोकेको एम्बुलेन्स रोक्नु प्रहरी कर्मचारीको काम नभएको बताए । प्रहरी कार्यालयभित्र एम्बुलेन्स रहँदा महिलाको मृत्यु भएको विषयमा पनि प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण भएको र अनुसन्धान भइरहेको रेग्मीले बताए ।
काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएका बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार शिवाकोटीले सडकमै ‘बबाल’ गरेपछि महिलाको मृत्यु भएको आरोप लागेको थियो । हेटौँडा उपमहानगरपालिका–४, स्थित रानी दरबार अगाडि भएको घटना आइतबार राति करिब १२ बजेको हो ।
मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका १ घर भएकी मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै गर्दा सडकमै घुमुवा प्रहरी शिवाकोटीसँग विवाद भएको थियो । विवादपछि जिल्ला प्रहरी कार्यालयले मृतक परिवारसहित एम्बुलेन्स पनि नियन्त्रणमा लिँदा प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु भएको थियो । शिलापत्रबाट ।