शुक्रवार देखि सुरु भएको ३५ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी कार्यक्रम शनिवार सम्पन्न
नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला शाखाको आयोजनामा गत शुक्रवार देखि सुरु भएको ३५ औ जिल्ला जुनियर युवा रेडक्रस गोष्ठी कार्यक्रम शनिवार सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाको व्यवस्थापन तथा युवा रेडक्रस सर्कल बालबोध मावी हटियाको आतिथ्यतामा आयोजित गोष्ठी १३ बुँदे बालबोध घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री तथा जिल्ला जुनियर युवा समितिका संयोजक शिवहरि दाहालको अध्यक्षतामा शुक्रवार भएको कार्यक्रमको उद्घाटन बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानले गर्नुभएको थियो ।
गोष्ठीमा मकवानपुर जिल्लाका १०० वटा सामुदायिक तथा संस्थागत विद्यालय एवं समुदाय स्तरमा गठित जुनियर एवं युवा रेडक्रस सर्कलका प्रतिनिधि तथा शिक्षक नायकहरू गरि ३५० जनाको उपस्थिति रहेको थियो ।
गोष्ठीमा जुनियर युवा सर्कलको गरेको वार्षिक कार्यक्रमको समीक्षा गरि २०८०/८१ को वार्षिक कार्ययोजना निर्माण, हाजिरीजबाफ प्रतियोगिता, रेडक्रसका आधारभुत ७ सिद्धान्तको नाटक प्रदर्शन गर्दै नेतृत्व विकास, रेडक्रस अभियान, डेङ्गु सचेतना र विपद व्यवस्थापनको कार्यशालाको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालले जानकारी दिए ।
गोष्ठीले ३६ औ जिल्ला जुनियरर युवा रेडक्रस गोष्ठी भुटनदेवी माविको आतिथ्यमा २०८१ मंसिर महिनामा आयोजना गर्ने निर्णय गर्दै भुटनदेवी माविका शिक्षक नायक षडानन्द चौलागाईंलाई रेडक्रसको झन्डा हस्तान्तरण गरेको छ ।
समापन कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्ष भोला रूपाखेती, मकवानपुर शाखाका मन्त्री सुमित्रा काफ्ले, उपकोषाध्यक्ष मंगल रखाल, सदस्य कृष्ण सापकोटा, पूर्व उपसभापति उमेश बाँस्कोटा, पूर्वमन्त्री पिताम्बर बास्तोला, कार्यालय प्रमुख लक्ष्मण भट्टराइ, हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध मािवका प्रअ दीपकलाल श्रेष्ठ, उपशाखा सचिव मोहनचन्द्र चौलागाईं लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।