वीरगन्ज घण्टाघरको बत्ती चोरी

पालिका डायरी
१३ आश्विन २०८०, १३:४५

वीरगन्जको घण्टाघर चोकस्थित घण्टाघरमा जडान गरिएको बत्ती शुक्रबार राति नचिनेका मान्छेको समूहले तोडफोड गरेका छन् । घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन त्यसको पर्खालवरिपरि जडान गरिएको बत्ती तोडफोड गरिनुका साथै चोरी भएको हो ।

घटनास्थलमै २४सै घण्टा नेपाल र सशस्त्र प्रहरीको टोली बसेको हुन्छ । त्यहाँ नेपाल प्रहरीको बिट नै रहेको छ । करिब ४ महिनाअघि वीरगन्ज महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो । सौन्दर्यीकरण गरिएपछि रातको समयमा बत्तिको साजसज्जाले घण्टाघर परिसर आकर्षक देखिने गरेको छ ।

सौन्दर्यीकरणपछि घण्टाघरलाई पृष्ठभूमिमा राखेर तस्बिर खिच्ने तथा भिडियो बनाउने युवाहरूको बाक्लो उपस्थिति घण्टाघरवरिपरि लाग्ने गरेको छ ।

महानगर प्रमुख राजेशमान सिंहले सामाजिक सञ्जालमार्फत घटनाप्रति खेद प्रकट गरेका छन् । उनले सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व सबैको हुने भन्दै घण्टाघर उज्यालो र आकर्षक बनाउन वरिपरि जडान गरिएको बत्ति चोरी हुनु दुःखद भएको बताएका छन् ।

प्रतिक्रिया