सिंहदरबारमा वार्ता, माइतीघर मण्डलामा प्रदर्शनको तयारी

पालिका डायरी
५ आश्विन २०८०, १२:०७
शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

विद्यालय शिक्षालाई स्थानीय तहबाट मुक्त गर्नुपर्नेलगायत १७ बुँदे मागसहित आन्दोलतरत शिक्षकहरूले तेस्रो दिन पनि प्रदर्शनको तयारी गरेका छन् । सरकारले वार्ताका लागि आह्वान गरे पनि शिक्षकहरूले वार्ता र आन्दोलनलाई संगसँगै लैजाने बताएका छन् । सरकारले शिक्षकहरूसँग शुक्रबार सिंहदरबारमा वार्ता हुने जनाएको छ ।

शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले आन्दोलन र वार्ता सँगसँगै जाने बताए । बुधबारदेखि शिक्षकहरूले माइतीघर मण्डलादेखि बानेश्वरसम्म विरोध गरेका थिए । वार्ताको सफलताका लागि पनि आन्दोलन जारी राख्ने अर्का एक पदाधिकारीले बताए । शिक्षकहरूको आन्दोलनका कारण देशभरका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

शिक्षकहरूले काठमाडौं केन्द्रित आन्दोलन गरेर आफ्नो माग पूरा गर्न दबाब दिइरहेका हुन् । बुधबारदेखि माइतीघर–बानेश्वर क्षेत्रमा शिक्षकको प्रदर्शन जारी छ।

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

संविधानले माध्यमिक तहसम्मको अधिकार स्थानीय तहलाई हुने ग्यारेन्टी गरेको छ। तर शिक्षकले स्थानीय तहअन्तर्गत रहन नसक्ने जिकिर गरेका छन्। शिक्षक सरुवा, बढुवा, मूल्यांकन, कारबाही, प्रधानाध्यापक नियुक्तिलगायत नियमन स्थानीय तहले गर्न नसक्ने महासंघको ठहर छ ।

प्रतिक्रिया
pic7_4Bb9sH0Qjx-1