मनहरी र हेटौंडा २ वडा कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मासिक भत्ता उपलब्ध गराउने

सुनिता विष्ट
४ आश्विन २०८०, २१:१८

हेटौंडा / मकवानपुरको मनहरी गाउँपालिका र हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा कार्यालयले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मासिक नियमित भत्ताको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका छन् । बिहीबार ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा भएको स्थानीय सरकार तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रममा यहाँका जनप्रतिनिधिहरूले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् । 


कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायले भोग्नुपरेको समस्या र चुनौतीको विषयमा चर्चा गरिएको थियो । यस समुदायका व्यक्तिहरूलाई सहज होस् भन्ने उद्देश्यले मनहरी गाउँपालिका भित्रका यस समुदायका  मासिक रुपमा भत्ता उपलब्ध गराउन पहल गरिने मनहरी गाउँपालिका ३ नम्बर वडाध्यक्ष अनन्त अर्यालले बताए । कार्यक्रममा मन्तव्य राख्दै उनले, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका नागरिकलाई रोजगारीको अवसरसँगै मासिक भत्ताको व्यवस्था मिलाउने बताए । 


यस्तै, हेटौंडा २ नम्बर वडाका वडाध्यक्ष विष्णुगोपाल महर्जनले पनि आफ्ना वडामा भएका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई मासिक रुपमै भत्ताको प्रबन्ध मिलाउने बताएका हुन् । बालकबालिका देखि सबै उमेरका यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई आर्थिक सहजताको लागि भत्ताको व्यवस्था मिलाउने वडाध्यक्ष महर्जनले प्रतिवद्धता जनाएका हुन् । 


स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको अन्तरक्रिया कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका लागि स्थानीय सरकार तथा सरोकारवाला निकायले गरेका कामहरुको बारेमा दुईवटा सेसन सञ्चालन गरिएको थियो ।े ब्लु डाइमन्ड सोसाइटीको तर्फबाट यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अवस्थाको बारेमा ब्लु डाइमन्ड सोसाइटीका कार्यक्रम निर्देशक सन्जय शर्माले एउटा सेसन सञ्चालन गरेका थिए । 


कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका उपप्रमुख सानुकाजी लुइँटेलको प्रमुख आतिथ्यता रहेको थियो भने हेटौंडा १ नम्बर वडाका वडाध्यक्ष सबिन न्यौपाने, मकवानपुरगढी गाउँपालिकाकी उपप्रमुख मानकुमारी पाख्रिन, जिसस मकवानपुरकी सदस्य तारा ढुंगाना लगाएतको विशिष्ट आतिथ्यता रहेको थियो । ब्लु डाइमण्ड सोसाइटीकी उपाध्यक्ष उमिशा पाण्डेको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो भने फ्रेन्ड्स हेटौंडाकी कार्यक्रम संयोजक किरण थापाले कार्यक्रमको सहजीकरण गरेकी थिइन् । कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोगमा भएको आयोजना भएको ब्लु डाइमण्ड सोसाइटीकी उपाध्यक्ष उमिशा पाण्डेले बताइन् । 

प्रतिक्रिया
IMG_7520