बागमतीमा सवारी दुर्घटना र मृत्युदर दुवै घट्यो, कुन जिल्लामा कति?

सुनिता विष्ट
हेटौंडा / बागमती प्रदेशमा पछिल्लो समय सवारी दुर्घटनामा कमी आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा दुर्घटनाको संख्या सँगै मृत्युदरमा समेत कमी आएको हो।
प्रदेश प्रहरी कार्यालय बागमतीका अनुसार गत आर्थिक वर्षमा उपत्यका बाहेकका १० जिल्लामा १ हजार ३ सय ६१ सवारी दुर्घटना हुँदा २ सय ९९ जनाले ज्यान गुमाएका छन्।
यो संख्या आर्थिक वर्ष २०७८/०७९ को भन्दा कम हो। आ.व २०७८/०७९ मा १ हजार ७ सय ७९ सडक दुर्घटनामा परेर ४ सय १३ जनाले ज्यान गुमाएका थिए।
यो आ.व मा २ हजार ६ सय ६१ वटा सवारी दुर्घटनामा परेका थिए भने गत आर्थिक वर्ष २०७९/०८० मा १ हजार ९ सय ४२ सवारी साधन दुर्घटनामा परेका थिए। जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा ७ सय १९ घटना कम भएको प्रदेश प्रहरी कार्यालयको तथ्यांक छ।
कुन जिल्लामा कतिको मृत्यु?
बागमतीको चितवनमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने गरेको तथ्यांक छ। गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण चितवनका मात्रै ७६ जनाले ज्यान गुमाएका छन्। ३ सय ३ वटा सवारी दुर्घटना भएको यहाँ १ सय ६९ जना गम्भीर घाइते भएका थिए भने ४ सय १२ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ।
दुर्घटनाको कारण ज्यान गुमाउनेको धेरै संख्या रहनेमा चितवन पछि मकवानपुर छ। यहाँ गत आ.व मा २ सय ५५ वटा सवारी दुर्घटनामा परेर ६३ जनाले ज्यान गुमाएका छन्। १ सय ८३ जना गम्भीर घाइते भएका थिए भने ४ सय १२ जना सामान्य घाइते भएका थिए।
यस्तै, सिन्धुलीमा १ सय ८२ वटा सडक दुर्घटनामा ३४ जनाको मृत्यु भएको छ भने रापेछापमा ३३ वटा सडक दुर्घटनामा परेर ९ जनाको मृत्यु भएको छ।
यस्तै, दोलखामा २७ सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु, काभ्रेमा १ सय ५६ सडक दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय बागमतीले जनाएको छ।
सिन्धुपाल्चोकमा ५० सडक दुर्घटनामा १० जनाको मृत्यु, नुवाकोटमा ८१ वटा सडक दुर्घटनामा १५ जनाको मृत्यु, धादिङमा २ सय ४९ वटा सडक दुर्घटना हुँदा ३७ जनाको मृत्यु भएको छ भने रसुवामा सबैभन्दा कम २२ वटा सडक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पुरुष बढी
प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक हेर्दा यि १० जिल्लाहरुमा सडक दुर्घटनाका कारण महिलाको तुलनामा पुरुषको संख्या बढी रहेको पाइन्छ। जम्मा २ सय ९९ जनाको मृत्यु हुँदा पुरुषको संख्या मात्रै २ सय ३४ रहेको छ भने मृत्यु हुने महिलाको संख्या ४३ रहेको छ। यस्तै, २२ जना बालबालिकाको समेत सडक दुर्घटनाकै कारण मृत्यु भएको छ।
दुर्घटनामा बढी दुई पाङ्ग्रे सवारी
गत आ.व मा दुर्घटनामा परेका १ हजार ९ सय ४२ सवारीमध्ये दुई पाङ्ग्रे सवारीको संख्या बढी रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। कार्यालयको तथ्यांक अनुसार कुल दुर्घटना भएको सवारी संख्या मध्ये दुई पाङ्ग्रे सवारी मात्रै १ हजार ७ रहेको छ। जसमा पनि मोटरसाईकलको संख्या धेरै रहेको प्रहरीको भनाइ छ।
दुर्घटनामा पर्नेमा ट्रक/ट्रयाङ्करको संख्या २ सय १२, टिपर ४९, डोजर÷स्काभेटर १, बस १ सय ५८, माइक्रो ५२, जिप/कार ३ सय १८, ट्याक्टर ५०, टेप्पो ४५ र अन्य ४० वटा सवारीहरु सडक दुर्घटनामा परेको प्रदेश प्रहरीको तथ्यांक छ।