बागमतीका सभामुख भन्छन्- प्रदेशसभा केन्द्रको छायाँ मात्रै बन्यो

बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले अहिलेको संघीय संरचनाअनुसार प्रदेशसभाहरू केन्द्रको छायाँबाट मुक्त हुन नसकेको बताएका छन्।
काठमाडौंको चन्द्रागिरीमा शुक्रबार आयोजित संघीय संसद् र प्रदेशसभाको अनुभव आदानप्रदान एवम् अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।
‘केन्द्रीय राजनीतिमा हुने उतारचढाव र परिवर्तनको प्रभाव प्रदेशमा पनि पर्ने गरेको छ’, उनले भने, ‘केन्द्रको छाया र प्रभावबाट मुक्त नहुनु प्रदेशको दुर्भाग्य हो, हामीले परिकल्पना गरेको प्रदेशको अवधारणालाई यसले भेट खाँदैन।’
उनले संघीयताबारे प्रश्न उठिरहेको बताउँदै त्यसको कारण के होरु विवेचना हुन नसकेको पनि बताएका छन्। पाठकले आफूलाई संसद् बाहिरबाट हेर्दा जस्तो नलागेको पनि बताएका छन्। ‘बाहिरबाट हेर्दा जस्तो रहेनछ संसद् रहेनछ। संसदभित्र सभामुख भएर हेर्दा फरक रहेछ। मैले सोचेभन्दा संसद् फरक रहेछ’, उनले भने, ‘सभामुख होइन्छ भन्ने कहिले कल्पना गरेको थिइनँ।’
उनले सभामुखमा पुगिसकेपछि आफ्ना सबै विचार र आस्था ढोकामुनि छाड्नु पर्ने अनुभव पनि आफूले गरेको बताए। ‘मैले व्यक्तिगत रूपमा आफ्ना विचार सोचाइ त्यागेको छु’, उनले भने, ‘हामी कति गम्भीर र संवेदनशील छौँ भन्ने का पनि हो।’ उनले बहुदलीय व्यवस्थाको सुन्दरता भनेकै देशका तीन संवैधानिक निकायको शक्ति सन्तुलन भएको बताए।
तर उक्त सन्तुलन खलबलिन थालेको उनले बताए। ‘कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको सन्तुलन र स्वायत्तता हो’, उनले भने, ‘तर अहिले त्यो खलबलिएको छ। यसले हामीलाई चिन्ता बढाएको छ।’