मकवानपुरको पालुङमा रहेको विद्युत प्राधिकरणमा लुट धन्दा

मकवानपुर / जनताको सेवा दिन बसेको सरकारी कार्यालय जनतालाई नै ठगी र व्यापार गरेको देख्दा तपाई अचम्मित हुनु भयो होला । अचम्म मान्नु पर्दैन । नेपाल विद्युत प्राधिकरणको मकवानपुर पालुङ केन्द्रमा जनतालाई नै ठगी गर्दै सेवा दिनुको साटो जनतामाथि नै व्यापार गर्दै मोटो रकम त्यहाँका कर्मचारी, प्राविधिक, लेखापाल सबैको खल्तीमा पुग्ने गरेको तथ्य फेला परेको छ ।
वितरण केन्द्रको क्षेत्रमा पर्ने थाहा नगरपालिका वडा नम्बर–२ मा पोल बदली गर्ने कार्य मोनिका निर्माण सेवाले गरेको विवरण प्राधिकरणसँग छ, तर सोही काम प्राधिकरण कै कर्मचारी, सवारी साधन, इन्धन प्रयोग गरेर काम तामेल गर्न गत जेठ १९,२०,२४ गते पुगेको प्राधिकरणकै अर्को विवरणमा उल्लेख छ । प्राधिकरणले थाहा वडा नम्बर–८ आग्रा भन्ज्याङमा कुनैपनि काम नभएको बताएपनि सो क्षेत्रमा प्राधिकरण आफैले सो क्षेत्रमा पोल बदली, नयाँ पोल जडान, लाईन विस्तार गरेको फेला परेको छ ।
उपभोक्ता सित्तैमा पोल बोक्छन्, रकम ठेकेदारको खातामा
नेपाल विद्युत प्राधिकरण पालुङकेन्द्रले थाहा नगरपालिकाका वडा नम्बर २ को भाङ्खोरिया, वडा नम्बर ४ को जगतघारी, वडा नम्बर ६ को तिनाल, वडा नम्बर ८ को दामगाडे, वडा नम्बर १२ को सलमपुर, घलेगाऊमा खानेपानीका लागि लाईन विस्तार गर्न काठमाडौंको ओम् इनर्जी नेपाल प्रालिलाई सामानसहित ६९ लाख ८९ हजार ७१२ रुपैयाँमा ठेक्का लगाएको छ ।
ठेकेदार कम्पनीले पोल तार ढुवानी वापत ५ लाख ७२ हजार ६ सय २७ रुपैया छुट्टै ज्यालासमेत पाउने सम्झौतामा उल्लेख छ । ठेक्का लगाएको प्राधिकरणका केन्द्र प्रमुख वीरमान रास्कोटी आफैले स्वीकारेका छन् ।
तर प्राधिकरणका प्राविधिक मधुसुदन चौधरीले ठेक्का नलगाईएको र पोल तार ढुवानी गर्ने, पोल गाड्न खाडल खन्ने काम उपभोक्ताकै भएको झुट बोलेर ठेकेदारको सबै काम सित्तैमा जनतालाई लगाएका छन् । प्राविधिक चौधरीले ९८६००५८८१८ बाट बारम्बार उपभोक्तालाई फोन गर्ने गरेको जगतघारी खानेपानी उपभोक्ता समितिका अध्यक्ष वीरमान पाख्रिनले बताएका छन् ।
प्राधिकरणको कुरामा लागेर सबै काम गरिरहेका उपभोक्ता आफूलाई सित्तैमा खाडल खनिरहेका उपभोक्ता भन्छन् आजसम्म कुनै ठेकेदार आएकै छैनन् । प्राधिकरण आफै ठेकेदार भएको आफूहरुले जानकारी पाएको थाहा–४ का रामकुमार योन्जनले बताएका छन् ।
पालुङ केन्द्रबाट अधिकांश पोल, तार लगायतका सामग्री स्थानीय आफैले लैजाने गरेका छन् । तर केन्द्रको रकम भुक्तानी विवरणमा ठेकेदार कम्पनीलाई सामान हस्तान्तरण गरिएको र सबै काम ठेकेदार मार्फत नै हुने गरेको विवरण छ ।
प्राधिकरणको पालुङ केन्द्रमा दोश्रो वरियताका सहायक ईन्जिनियर रामविलास रायले भुक्तानी कागजातमा आफ्नो हस्ताक्षरविना नै ठेकेदारहरुलाई भुक्तानी हुने गरेको हामीसँगको कुराकानीमा बताएका छन् । आन्तरिक लेखा परीक्षणबाट सो कुरा पुष्टि भएपछि आफूलाई हस्ताक्षरको लागि दवाव आईरहेको तर जान्दै नजानेको योजनाको भुक्तानीमा आफूले हस्ताक्षर नगर्ने अडानमा रहेका छन् ।
यस अघि पनि पालुङ वितरण केन्द्र भित्रै पर्ने थाहा वडा नम्बर–११ टिस्टुङका लगायतका स्थानमा रहेका खानेपानी आयोजनाको विद्युत विस्तारका लागि कर्मचारीको मिलेमतोमा ठेकेदारको खातामा रकम जम्मा गर्न लगाई प्राधिकरणको सामान प्रयोग भएको सार्वजनिक भईसकेको छ ।
