कांग्रेसका जनप्रतिनिधिले गरे इन्द्रसरोवरको बजेट बहिस्कार

पालिका डायरी
२६ असार २०८०, १७:०१
कांग्रेसका जनप्रतिनिधिले गरे इन्द्रसरोवरको बजेट बहिस्कार

हेटौंडा / इन्द्रसरोवर गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०/०८१ को लागि ल्याएको बजेट वडाबाट बहिस्कार भएको छ।

गाउँपालिकाको वडा नम्बर १, २ र ५ का वडाध्यक्षहरुले बजेट बहिस्कार गरेका हुन् । एमालेको अध्यक्ष र उपाध्यक्ष रहेको इन्द्रसरोवरमा कांग्रेसका वडाध्यक्ष तथा वडासदस्यहरुले बजेट बहिस्कार गरेका हुन्।

१ र ५ का वडा अध्यक्षहरुले विज्ञप्ति निकाल्दै बजेट बहिस्कार गरेको बताएका छन्। वडा नम्बर १ का अध्यक्ष सुवास थापा मगरका अनुसार वडाले दिएको कार्यक्रमहरुलाई सम्बोधन नगरिएको र एकलौटी ढंगले अध्यक्षले बजेट बनाएको आरोप छ।

गाउँ पालिकाको १२ औँ सभामा वडा नं। १ को वडा बासीको हितका लागि ‘प्रयोग मैत्री संरचना, स्वास्थ्य शिक्षा, पर्यटन र कृषि समतामुलक विकास इन्द्रसरोवरको समृद्धि’ भन्ने नारा लाई सम्बोधन गरेको भन्दै वडाध्यक्ष मगरले चिन्ता व्यक्त गरेका छन्। उनका अनुसार श्रोत सुनिश्चत नगराई बजेट तयार गरिएको छ।

त्यसै गरी वडा नम्बर ५ का वडाध्यक्ष दुत राज तितुङ्गले गाउँ पालिकाले हाल्ने योजनाहरु र वडाले हाल्ने योजनाहरु सभामा प्रस्तुत हुनु अगावै छलफल गरि टुङ्याउनु पर्नेमा पालिका टिम एकलौटी रुपमा अगाडि बढ्न खोज्दा महत्वपूर्ण बिषय शीर्षकहरु छुटेको बताए।

वडासँग समन्वय नगरी बजेट बनाइएकोले आफूहरु त्यो बजेट स्वीकार गर्न सक्ने स्थितीमा नरहेको उनले बताए। ‘एकलौटी ढंगले बजेट ल्याउने प्रवृत्तिमा सुधार गराउनको लागि सचेत गराउन बजेट बहिस्कार गरेका हौँ,’ वडाध्यक्ष तितुङ्गले भने।’

प्रतिक्रिया