संस्कृति जोगाउँदै सामाजिक रुपान्तरणतर्फ हेटौंडा उपमहानगर

सुनिता विष्ट
हेटौंडा / काँधमा ढाकाको फूलबुटे पच्छ्यौरी। राष्ट्रिय फूल लालीगुराँसको बुट्टा कुँदिएको चौबन्दी। रातो बुट्टे साडी। सपक्क सिउँदो काटेर लरक्क रातो धागोले बाटिएको कपाल। उमेर २५ देखि ५६ वर्ष। उनैका हातहातमा नौमत्ती र पञ्चेबाजा। त्यही पञ्चेबाजाको धुनले नाचिरहेका छन् ब्रतवन्धका पाहुना।
फूल्यो जमुना, यो नयाँ सालैको शुभकामना …..यसै पनि खुशी छ यो मन, फलोस् फूलोस् हजुरको जीवन फूल्यो जमुना, यो नयाँ सालैको शुभकामना……।
४५ वर्षीया रुक्मिणी खत्रीले उक्त गीत एकपटक गाएपछि अरुले सहनाई बजाउन थाले। त्यहीबेला घन्किन्छ पञ्चेबाजाको मीठो धुन। असार ३ गते हेटौंडा उपमहानगरपालिका–१, जरुवाटोलमा पदमलाल आचार्यका नातिको ब्रतवन्ध थियो। उनकी कान्छी बुहारी संगीतासहितको नौमत्ती बाजा समूहले ती बाजा बजाएका थिए।
ब्रतवन्ध घरमा आएका पाहुना पनि दंग परेर महिला समूहले बाजा बजाएको हेरे। पदमलाल बुहारीले बजाएको बाजामा छमछम नाचिरहे।
कोही दंग परेर अचम्म मानिरहे। ५६ वर्षीया सुनिता अधिकारी र उनीसँगै बसेकी ५१ वर्षीया शान्तादेवी लौडरीले जोर नरसिंहा फुकेर टोल नै संगीतमय बनाइदिए।
नजिकै बसेका केही छिमेकी पुरुषहरु दंग परेर बाजा बजाउने महिलाको समूहलाई हेर्दै तारिफ गर्दै थिए।
‘पहिलाजस्तो जमाना कहाँ हो र? पहिले त आइमाइले बाजा त के, बाजा बजाउनेलाई छुनसमेत हुँदैन भन्थे,’ त्यही टोलका गंगाप्रसाद भट्टराईले मुस्काउँदै भने, ‘तर, जमाना बदलियो।’
सीप सिक्ने अवसर पाए महिलाले पनि साहस गर्न सक्छन् भन्ने यी महिलाले देखाइदिएका छन्।
घाँटीको नसा टनक्क फुलाएर, पसिना काढ्दै जोडले नरसिंहा फुकिरहेकी सबैभन्दा पाकी अधिकारीलाई इशारा गर्दै उनले भने, ‘अहिले त यस्तो जोश छ। अलि उमेर हुँदै यस्तो सिक्न पाएको भए यिनीहरुले मकवानपुरमा मात्रै होइन, देशमै प्रभाव छेड्न् रहेछन्।’
उनीहरुले पञ्चेबाजा बजाउन सिकेको एक महिना कटेको छैन। पहिलोपटक त्यही ब्रतबन्धमा बाजा बोकेर पुगेका हुन्। आफ्नै टोल। वरिपरि घरपरिवार। तर, उनीहरुको नयनमा लज्जा र त्रास झल्किएको देखिएन। कारण, उनीहरुलाई यसरी बाजा घन्काउन सक्ने बनाउन परिवारको पूण साथ छ।
श्रीमती उषा बाजा बजाउन जान्ने भएको देख्दा दंग छन् ५५ वर्षीय शालिकग्राम बर्तौला। ‘यो उमेरमा आएर पञ्चेबाजा सिक्न रहर गरिन्,’ उनले भने – ‘सिक्न त के सक्लिन्, रहर पूरा गरन् भनेर हुन्छ भनेको थिएँ। सजिलैसँग सिकिन्। खुसी लागेको छ। उनीसँग आफू पनि सिकौँ झैँ लागेको छ।’
हेटौंडा उपमहानगरपालिकाले महिलालाई पञ्चेबाजा बजाउने तालिम पहिलो पटक दिएर सामाजिक रुपान्तरणको जग बसालेको हो। काखमा ढोलक लिएर दुई हातमा बित्तै लामो लौरी बोकेर बजाउन ठिक्क परेकी अम्बिका गौतमले ‘स्थानीय सरकार प्रमुखमा महिला र पुरुष हुनुमा फरक पर्ने रहेछ’ भन्दै गनथन सुरु गरिहालिन्।
‘नेतृत्वमा महिला भएपछि महिलालाई कसरी माथि उठाउने भन्ने सोच्दा रैछन्। अस्ति न केटा मेयर थिए, त्यसबेला यस्ता तालिम दिएनन्। महिला मेयरले हाम्रा लागि सोच्नुभयो। एकदम खुशी लागेको छ,’ उनी गद्गद् छिन्।
हाल ब्रतबन्धमा बाजा बजाउँदा तारिफ पाएका उनीहरुलाई सुरुमा पञ्चेबाजा बजाउन सिक्न जान्छु भन्न अप्ठेरो नलागेको भने होइन। सामाजिक सञ्जालमा अन्य ठाउँका महिलाले एकैखालका पोशाक लगाएर बाजा बजाएका भिडिओ देखेकी उषा अधिकारीलाई पनि सिक्न पाए भन्ने लाग्यो।
उनी उपमहानगरले महिलाका ल्याएको तालिमबारे सुन्नेबित्तिकै कहिले नाम टिपाउँला झैं लागेर रातभर निदाइनन् रे। घरमा के भन्लान्, जान देलान् कि नदेलान् भन्ने चिन्ता एकातिर थियो भने पठाए पनि सिक्न सकौँला कि नसकौँला भन्ने पीर अर्कातिर।
परिवारको अनुमतिमा सिक्न थालेकी उनी हाल नरसिंहा बजाउन पोख्त भएकी छिन्। ‘सुरुमा त महिलाले बाजा बजाउने हो र? ‘छ्या’ भन्दै गाउँकै केही आमाहरुले कुरा काट्नुभयो’, उषाले भनिन्, ‘हामीमध्येकी यिनी (इशारा गर्दै) दुई बहिनी त घरबाट बल्ल आएका हुन्। सासुले केही काम नपाएर बाजा बजाउने भन्दै आउनै दिएकी थिइनन्। बल्लतल्ल मनाएर आएका छन् विचरा। अब त गाली गर्न पनि छाड्नु भयो रे,’ उषाले भनिन्।
मकवानपुरमा पञ्चेबाजा बजाउन सिकाइएको यो दोस्रो महिला समूह भएको हेटौंडा–१ का अध्यक्ष सबिन न्यौपाने बताउँछन्। ‘महिलाले सधैं हस्तकला, सिलाइकटाई, ब्युटीपार्लरमात्रै कति सिक्नु भनेर फरक तालिम आयोजना गरेका हौं। यसमा स्थानीय महिलाले माग गर्नु भएअनुसार तालिम ल्याइएको थियो’, उनले भने, ‘छोटो समयमै विवाह र ब्रतबन्धमा बजाउन सक्ने भएको देख्दा पहिले नै यस्ता तालिम किन ल्याइएन छ भन्ने लागिरहेको छ।’
वडाध्यक्ष न्यौपाने पनि दंग छन्। जिल्लामै पहिलो पटक ४ महिना अघि थाहा नगरपालिकाले तालिम दिएको थियो। उनका अनुसार महिलालाई आर्थिक समृद्धिसँग जोड्न यस्ता कार्यक्रम ल्याइएको हो। उनीहरुले सिकेका सिपले मनोरञ्जन र आर्थिक पाटोमात्रै नभएर संस्कृति जगेर्ना गर्न मद्दत पुग्ने उपमहानगरका प्रवक्तासमेत रहेका न्यौपाने बताउँछन्।
व्यवसायिक बन्ने इच्छा
पञ्चेबाजाको स्वाद सिक्दै गरेका उनीहरु व्यवसायिक बनेर देशमै चिनिन चाहन्छन्। नातिनातिनाका हजुरआमाहरुलाई अब बाजा बजाएर मनोरञ्जन मात्रै दिनेभन्दा व्यवसायिक बन्न रहर जागेको छ।
‘सिकेर केही गर्न नपाए त दुःख गरेर सिकेको के काम? हामी अब समूहको नाम राख्छौँ। अनि, आम्दानी पनि हुने गरी बाजा बजाउन हिँड्छौँ,’ ४६ वर्षीया सरस्वती तिमल्सिनाले भनिन्।
बढ्दो माग
उपमहानगरपालिकाले पहिलो पटक महिलालाई तालिम दिएपछि हेटौंडाका अन्य महिलाले पनि यस्ता तालिम टोल विकास संस्थामा दिन माग राख्न थालेको उपमहानगर उपमेयर राजेश बानियाँ बताउँछन्।
‘पहिलो पटक हामीले तालिम सुरु गरेपछि हेटौँडाका महिलाले मात्र होइन, अन्य स्थानीय तहका महिलालेसमेत आफ्नो स्थानीय तहसमक्ष माग राख्न थालेको साथीहरुले सुनाएका छन्,’ बानियाँले भने।
चालु आर्थिक वर्षमा एउटा समूहलाई तालिम दिएर दक्ष बनाउने बताउँदै उपमेयर बानियाँले आगामी आर्थिक वर्ष मागका आधारमा यस्ता तालिम दिने बताए।
आर्थिक उपार्जनमा साथ
पछिल्लो समय एउटा विवाह वा व्रतवन्ध आदि शुभकार्यमा पञ्चेबाजा बजाएकोे ३० देखि ५० हजारसम्म लिने गरिन्छ। आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले पञ्चेबाजा बजाउने सीपमा लगानी गरिएको उपमेयर बानियाँ बताउँछन्।
केही समयअघिसम्म विवाह र व्रतवन्धमा अन्य बाजा धेरै बज्ने गरेकोमा त्यसलाई पञ्चेबाजाले विस्थापित गर्न थालेको छ। यसरी माग बढ्दै गएको पञ्चेबाजा बजाएर संस्कृति संरक्षणसँगै आर्थिक समृद्धिमा टेवा पुग्ने हेटौँडाका इतिहास खोजकर्ता केदारप्रसाद न्यौपानेको विश्वास छ।
‘यसअघि हेटौँडामै कहिल्यै महिलाले पन्चैबाजा बजाएको देखेको थिइनँ। हेटौंडा उपमहानगरपालिकाले नौलो र आयमूलक क्षेत्रमा महिलालाई जोडेको यो महत्वपूर्ण काम देखेर म पनि दंग छु,’ न्यौपानेले भने।
नेवारी बाजाको प्रस्ताव
नेवारी बाजा संरक्षण तथा प्रवर्द्ध नका लागि उपमहानगरले ध्यान दिनुपर्ने नेवाः गुठीः खल अध्यक्ष अनिल खड्गी बताउँछन्। ‘नेपाली बाजा पन्चैबाजा नै भए पनि सांस्कृतिक धरोहर बोकेको नेवारी धिमेबाजा बजाउन सिकाउने तालिम पनि दिए हुन्थ्यो,’ मुसुक्क हाँस्दै उनले भने।
‘पन्चैबाजाको तालिम देखेर रमाइलो लाग्यो,’ उनले भने, ‘त्यही देखेर हामी पनि नेवारी भाषा संरक्षण तथा धिमेबाजा प्रशिक्षणका लागि साउन लाग्नेबित्तिकै उपमहानगरपालिकामा प्रस्ताव लैजाने सोचेका छौँ।’
‘हुन त सबै बाजाका आआफ्नै महत्व छन्,’ उनले थपे, ‘पन्चैबाजा महिलालाई सिकाएजसरी हरेक पर्व, जात्रा र मेलामा बजाइने धिमेबाजाका लागि पनि प्रशिक्षण दिए अझ राम्रो हुन्थ्यो। इच्छुक महिलालाई मात्रै होइन, पुरुषलाई पनि पन्चैबाजा जस्तै धिमेबाजा सिकाउनुपर्ने देखिन्छ।’
नेवाः गुठीःखल अध्यक्ष खड्गीले हाल पन्चैबाजातर्फ मानिस आकर्षित हुन थालेका बताए। यस्तो बेला नेपालको संस्कृति बोकेको बाजाको तालिम दिएर संरक्षणमा लाग्नु खुशीको कुरा भएको भन्दै उनले उपमहानगरको प्रशंसा गरे।
पन्चैबाजाको महत्व
पन्चैबाजा पाँच बाजाको समूह हो। पन्चैबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्छन्। पन्चैबाजा नेपाली धार्मिक एवम् सांस्कृतिक बाजाका रुपमा प्रयोग हँुदै आएको मौलिक संस्कृतिको धरोहर हो। विवाह, ब्रतबन्ध, चाडवाड, जात्रा, रोपाइँ, पूजाआजा आदिमा यस्ता बाजा घन्किन्छन्।
नेपाली संस्कृतिमा पूजासहितका कार्य गर्दा साइतको महत्व हुन्छ। त्यस्ता साइतमा मंगलधुन बजाएर साइतलाई शुभ बनाउने चलन छ। मंगलधुनका लागि पन्चैबाजा सबैभन्दा प्रचलित छ।
परम्परागत रुपमा नेपालका एक विशेष समुदायले मात्रै उक्त बाजा बजाउँथे। हाल यो बाजा विभिन्न समुदायका पुरुष र महिलाले व्यावसायिक रुपमा बजाउन थालेका छन्।
मकवानपुरमा पन्चैबाजा
मकवानपुरकै चर्चित पन्चैबाजाको रुपमा सरिखेत र आमभञ्याङको बाजालाई मानिन्थ्यो। जिल्लामा मात्रै होइन, छिमेकी चितवन, बारा, धादिङसम्म यहाँबाट बाजा बजाउन जान्थे।
‘१०/१२ बर्ष अघिसम्म जिल्लामा ६ वटा मात्रै बाजा समूह थिए। त्यो पनि एक बिशेष समुदायले बजाउने गर्थे,’ हेटौँडाका इतिहास खोजकर्ता न्यौपानेले बताए।
तर पछिल्लो समय जिल्लामै पन्चैबाजाको संरक्षणमा जुटेको पाइन्छ। विशेष समुदायले मात्र बजाउने बाजा अहिले सबै जातजाति र लिंगले बजाउन थालेका छन्। यसको बलियो उदाहरण हो, सामरीको घिमिरे बाजा। यो बाजा हाल जिल्लाकै प्रख्यात छ। यो बाहुन क्षेत्रीले बजाउने गर्छन्।
भौतिक पूर्वाधारमात्रैै विकास होइन : मेयर लामा
भौतिक पूर्वाधार निर्माण, कृषि, स्वास्थ्य, शिक्षालगायतमा विकासका कामहरु हुने क्रम जारी रहन्छ। तर, यस्ता सीपमूलक र आयआर्जनमा जोड्ने तालिम विरलै हुने गरेका छन्। तीन दिन, एक महिना वा ३ महिना तालिम लियो। हातमा प्रमाणपत्र बोक्यो, घर बस्यो। यसो गरेर बजेट खेर फाल्नु भन्दा आयआर्जनमा जोड्न राम्रो र टिक्न सक्ने तालिम ल्याइएको उपमहानगर मेयर मीनाकुमारी लामा बताउँछिन्।
हेटौँडाले सामाजिक रुपान्तरणमा कदम राखेको हो?
विकास भन्दैमा भौतिक पूर्वाधारमात्र होइन भन्ने प्रमाणित गर्दै सामाजिक रुपान्तरणलाई प्राथमिकतामा राखेका छौँ। यसले सबैलाई समेटेको महसुस गरेकी छु। भौतिक पूर्वाधार बनाउनु मात्रै विकास होइन। मुख्य विकास भनेको नै सामाजिक रुपान्तरण हो।
पन्चैबाजा तालिम किन ल्याइएको हो?
महिलालाई आर्थिकरुपमा बलियो बनाउन सकिए समाज आफैं बलियो हुन्छ जस्तो लागेर हामी सामाजिक रुपान्तरणतर्फ केन्द्रित भएका हौं। पन्चैबाजा सिकेर दक्ष बन्दै हेटौंडाको मात्र नभएर जिल्लाकै नाम चम्काउन थाल्नुभएको छ।
के तालिम महिलालाई मात्रै आवश्यक छ?
महिलालाई आर्थिक र सामाजिक क्षेत्रमा अब्बल बनाउन लागिपरेकी छु। यसको मतलब पुरुषका लागि केही गरिएको छैन भन्ने होइन। धेरै तालिमहरु पुरुषका लागि पनि भएका छन्। पन्चैबाजामा महिलाले इच्छा देखाउनुभयो।
तालिम मात्रै दिने कि बाजा पनि खरिद गरिदिने?
चालु आर्थिक वर्षको बजेटमा तालिम लागि मात्रै सुरु गरिएको छ। आवश्यकताका आधारमा खरिद गर्न पनि सहयोग गर्ने लक्ष्यमा छौँ।