पूर्वराज्यमन्त्री महेश चौधरीको निधन

पूर्वराज्यमन्त्री एवं एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य महेश चौधरीको निधन भएको छ । ७२ वर्षीय चौधरीको उपचारका क्रममा बुधबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा निधन भएको हो ।
अर्थशास्त्र र भूगोलमा स्नातकोत्तर तह गरेका चौधरीले २०३५ सालदेखि महेन्द्र बहुमुखी क्याम्पस घोराहीमा प्राध्यापन गरेका थिए । तत्कालीन नेकपा (माले)को नीतिअनुसार प्राध्यापन छोडेर चौधरी २०४३ सालमा पूर्णकालीन राजनीतिमा लागेका थिए । उनी एमालेको तर्फबाट २०४८ मा राष्ट्रिय सभा सदस्य र २०५४ मा स्थानीय विकास राज्यमन्त्री भएका थिए ।
संस्कृति र इतिहासको खोज अनुसन्धानमा दख्खल राख्ने चौधरीले थारु, नेपाली र अंग्रेजी भाषामा थुप्रै अनुसन्धानमूलक कृति प्रकाशन गरेका छन् । पछिल्लो समय उनी राजनीतिबाट निष्क्रिय भई बेलभारमा प्राङ्गारिक मल उद्योग सञ्चालन गरिरहेका थिए । चौधरीका दुई छोरा, एक छोरी र श्रीमती छन् ।
एमाले दाङले चौधरीको निधनप्रति दु:ख व्यक्त गरेको छ । अध्यक्ष हुकुमबहादुर बस्नेत र सचिव मनोहर बुढाथोकीले शोक वक्तत्व जारी गर्दै पार्टीले कुशल अभिभावक गुमाएको उल्लेख गरेका छन् । चौधरीको शव श्रद्धाञ्जलीका लागि बुधबार बेलुका घोराहीस्थित एमाले पार्टी कार्यालयमा राख्ने र बिहीबार बिहान दंगिशरण गाउँपालिका–४ बैवाङस्थित बबई घाटमा अन्त्येष्टि गरिने एमाले जिल्ला सचिव बुढाथोकीले जानकारी दिए ।