लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिरिए, ४ मन्त्रीले दिए राजीनामा

पालिका डायरी
१२ चैत्र २०७९
लुम्बिनी प्रदेश सरकारबाट माओवादी र जनमत बाहिरिए, ४ मन्त्रीले दिए राजीनामा

लुम्बिनी प्रदेश सरकारबाट नेकपा (माओवादी केन्द्र) र जनमत पार्टी बाहिरिएको छ । साे सरकारबाट ४ जना मन्त्रीले राजीनामा दिएका छन् ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी तीनजना मन्त्रीले आज मुख्यमन्त्री लीला गिरी समक्ष सामूहिक राजीनामा दिएकाे माओवादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले जानकारी दिए ।

“पार्टीका सबै मन्त्रीले राजीनामा दिइसक्नु भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारीसहित नयाँ सरकार गठनका दाबीका लागि बहुमतसहितको प्रदेश प्रमुखको कार्यालयमा जाँदैछाैँ”, उनले भने ।

साथै जनमत पार्टीबाट मन्त्री बनेका सामाजिक विकासमन्त्री चन्द्रकेश गुप्ताले पनि राजीनामा दिएका छन् । उनले आफूले मुख्यमन्त्री समक्ष राजीनामा बुझाएको र नयाँ बन्ने सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको बताए ।

लुम्बिनी प्रदेशमा एमालेले नेतृत्वमा सरकारमा गत पुस २८ मा माओवादी केन्द्रका तर्फबाट कृष्णा केसी विना विभागीय मन्त्रीको रुपमा सहभागी थिए  । त्यसको करिब एक महिनापछि मुख्यमन्त्री गिरीले माओवादी केन्द्रका संसदीय दलका नेता जोगबहादुर महरा आर्थिक मामिलामन्त्री र ईन्द्रजित थारु भौतिक पूर्वाधार विकास मन्त्री र कृष्णा केसीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारीसहित नौ सदस्य मन्त्रीमण्डल विस्तार गरेका थिए ।

प्रतिक्रिया