पत्रकारिता जगत सशक्त बनाउन हाम्रो साथ छ: सभामुख पाठक

पालिका डायरी
१९ फाल्गुन २०७९
पत्रकारिता जगत सशक्त बनाउन हाम्रो साथ छ: सभामुख पाठक

संसदको गतिविधि जनतामाझ लैजान र सांसदहरूलाई झकझक्याउन समेत पत्रकारिता जगत सशक्त हुनुपर्ने बागमती प्रदेश सभामुख भुवनकुमार पाठकले बताएका छन् ।
यसको लागि प्रदेश सभाले पत्रकारसँग सदा सहकार्य गर्ने उनले बताए ।

पत्रकारिता क्षेत्र पछिल्लो समय सशक्त रूपमा विकास भएकोले बिकृती रोकथाममा योगदान गरेको बताउंदै सभामुख पाठकले देश र समाजको यथार्थ र वास्तविकतालाई सहजै उपलब्ध हुने वातावरण सिर्जना भएको सभामुख पाठकले बताए ।

बागमती प्रदेश सभा सचिवालयले चितवनको सौराहामा आयोजना गरेको सन्चारकर्मीहरूसँग अन्तरक्रिया तथा संसदीय रिपोर्टिङ सम्बन्धि दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै पाठकले यस्तो बताएका हुन् ।

कार्यक्रममा उपसभामुख अप्सरा चापागाईं खत्रीले बागमती प्रदेश संघीय राजधानी समेत रहेको र अन्य विविधताको हिसाबले आमसन्चारमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् ।
संसदले जनताका आवाज सम्बोधन गर्नु पर्ने र चुकेका बिषयमा खबरदारी गर्नुपर्ने भएकोले पत्रकारको भूमिका इमानदारीतापुर्वक निभाउन उनले आग्रह गरिन । जनताको लागि सन्चार संवाहक बनेर लागिपरेका पत्रकारलाई संसदले सधै सहयोग गर्ने उपसभामुख चापागाईंले बताइन् ।

कार्यक्रममा प्रदेश सभा सचिब कृष्णहरि खड्काले संसदीय रिपोर्टिङ गर्ने पत्रकारलाई कानून जानकारी अपरिहार्य रहेको बताए । संसदीय रिपोर्टिङमा पत्रकारको पहुँच कम भएको आभास आफूलाई भएको उनले बताए ।

बागमती प्रदेश सभाका सूचना अधिकारी सुन्दर बास्कोटा, नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य सुनिल खड्का, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाललगायतले प्रदेश सभाको गतिविधि रिपोर्टिङ र चुनौती बारे जानकारी गराएका थिए ।

मकवानपुर र चितवनको ४० जना पत्रकारको सहभागीता रहेको प्रशिक्षण कार्यक्रममा वरिष्ठ पत्रकार तथा इकागज अनलाइन पत्रिकाका प्रधान सम्पादक हरिबहादुर थापाले प्रशिक्षण दिनेछन् । लामो समय संसदीय पत्रकारिता गरेका थापासँग संसदीय अभ्यासको सिप सहभागीले हासिल गर्ने छन् ।

प्रतिक्रिया
पत्रकारिता जगत सशक्त बनाउन हाम्रो साथ छ: सभामुख पाठक